सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्र प्रहरीलाई पुराना हतियार दिँदै नेपाली सेना

नेपाली सेनाले आफ्ना पुराना हतियार सशस्त्र प्रहरीलाई दिन थालेको छ । नेपाली सेनाले तालिम तथा विशिष्ट व्यक्तिको सुरक्षाका लागि सशस्त्र प्रहरी बल, नेपाललाई हतियार उपलब्ध गराएको छ ।

आइतबार सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा पहिलो चरणअन्तर्गत सशस्त्र प्रहरीलाई ५९० हतियार हस्तान्तरण गरेको हो । कार्यक्रममा रक्षा सचिव र गृहसचिवको समेत उपस्थिति थियो । प्रमुख सेनानी प्रभुराम शर्माले प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई उक्त हतियार हस्तान्तरण गरेका हुन् ।

५०० इन्सास राइफल र लाइट सपोर्ट हतियार ९० वटा हस्तान्तरण मुख्यालयले जनाएको छ । नेपाल सरकारको चैत २४ गतेको निर्णयअनुसार उक्त हतियार हस्तान्तरण गरिएको हो । इन्सास राइफल ९ हजार र लाइट सपोर्ट हतियार १ हजार ६०० उपलब्ध गराउनुपर्नेछ । पहिलो चरण अन्तर्गत ५९० हतियार सशस्त्र प्रहरी बललाई उपलब्ध गराएको हो ।

बललाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा र ठूला कार्यक्रम सञ्चालनका हतियार प्रयोग गरिनेछ । सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि हुनुको साथै सुरक्षा निकायहरूको सम्बन्ध थप बलियो हुने विश्वास नेपाली सेनाले लिएको छ । बाँकी हतियार क्रमश हस्तान्तरण गर्दै लाने भएको हो ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतवार १५:२५