सूचनाको शक्ति - The Power Of Information

        

कालिकोटको चिल्खाया बन्यो मार्सी जिउलो

मार्सी रोप्न खनजोत हुँदै चिल्खायाको मार्सी जिउलो ।

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–९ मा पर्ने मार्सी जिउलोमा खनजोत सुरु भएको छ । वैशाखदेखि रातो मार्सी धान रोप्न सुरु हुने चिल्खायाको मार्सी जिउलोमा किसानले खनजोत सुरु गर्न थालेका हुन् ।

समयमा खनजोत भएमा माटो पाक्ने र उत्पादन पनि राम्रो हुने भएपछि चैतबाटै खनजोत गर्न थालेको किसानले बताएका छन् । तिलागुफा–९ का मोहन रोकायाले सुरुमा चिल्खाया जिउलाका रूपमा परिचित पछिल्लो समयमा मार्सी जिउलोका नामले चिनिँदै आएको बताए ।

उनले मार्सी जिउलो नामकरण भएदेखि अन्य जातको धान लगाउने किसान पनि घट्दै आएको सुनाए । कम भयो भनेर अरू जातको धान लगाउन थालेका यहाँका किसान नगरपालिकाले मार्सी जिउलो भनेर घोषणा गरेपछि सबै किसानले रातो मार्सी नै लगाउन थालेका हुन् ।

रातो मार्सी धान कालो हुने भए पनि चामल भने रातो हुन्छ । पछिल्लो समय नगरपालिकाले मार्सी जिउलो नामकरण गरेपछि रातो मार्सीबाहेक अरू कुनै पनि जातको धान रोप्न बन्द गरिएको रोकायाले जानकारी दिए ।

‘सरकारले दबाब दिएर होइन, नामअनुसारको जिउलाको परिचय दिनुपर्छ भनेर सबै किसानले सल्लाह गरेर एकै जातको पुरानै रातो मार्सी धान रोप्न थालिएको हो,’ रोकायले भने । किसान इन्द्र ढकालले चिल्खायाको पहिचान रातो मार्सी नै भएको बताए ।

‘हामी त्यसबेला काठमाडौँमा पढ्न जाँदा झोलामा बोकेर रातो मार्सी लैजाने गथ्र्याैं । सँगै बस्ने साथीहरूले यस्तो पनि चामल हुने रहेछ भनेर अचम्म मान्थे । पछि त साथीहरू दशैँमा घर आउँदा जहिले पनि रातो चामल ल्याउन नबिर्सनु है भन्थे,’ ढकालले भने ।

उनका अनुसार सुरुमा खाँदा मोटा दाना लाग्छ । त्यसबेला रातो चामल भन्ने थियो । मार्सीको कुरा त धेरै पछि चलेको हो । ढकालले विगतदेखि नै रातो मार्सीको लोकप्रियता रहेकाले यसलाई अझ बढाउन थप प्रयास गरिएको बताए ।

पोसिलो हुने भएकाले बिरामीले पनि खान मिल्ने मार्सीको चर्चा धेरै भएको किसान बताउँछन् । कालीकोटमा मार्सी चिल्खायासँगै रास्कोट नगरपालिका, पलाँताको थिर्पु जिउला, शुभकालिका गाउँपालिकाको भर्ता र सान्नीत्रिवेणी गाउँपालिकामा उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतवार १०:५६