सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिममा एक्लै चुनाव लड्दै जसपा

सुदूरपश्चिममा जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धनबाट बाहिरिएको घोषणा गरेको छ ।

केन्द्रमा गठबन्धन दलहरूबीच भएको सहमतिविपरीत नेपाली कांग्रेसलाई मात्रै सरकारमा सहभागी गराएर आफ्नो अपमान गरेको भन्दै जसपाले गठबन्धन तोडेको जनाएको छ ।

धनगढीमा एक पत्रकार सम्मेलनमार्फत जसपाले गठबन्धन तोडेको घोषणा गरेको हो । केन्द्रबाट पाँचदलीय गठबन्धन प्रदेश तथा स्थानीयस्तरमा पनि विस्तार गर्दै अगाडि बढ्ने निर्देशन दिएको थियो ।

तर जसपालाई आउट गर्दै अगाडि बढ्न खोजेको जसपा सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरीले बताए । यस्तै सुदूरपश्चिममा गठबन्धन नहुने पनि उनले बताए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले कुनै जानकारी नै नदिई कांग्रेसलाई सरकारमा सहभागी गराउँदा जसपाले अपमान भएको महसुस गरेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जसपाले प्रदेशमा स्थानीय तह निर्वाचनका लागि एक्लै लड्न सक्षम रहेको दाबी गरेको छ । यस्तै आवश्यकता अनुसार अन्य पार्टीसँग मिलेर अगाडि बढ्न तयार रहेको जसपाको भनाइ छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतवार ०९:४३