सूचनाको शक्ति - The Power Of Information

        

बेलायती प्रधानमन्त्री जोन्सन सुटुक्क पुगे युक्रेन

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन शनिबार सुटुक्क युद्धग्रस्त युक्रेनी राजधानी कीभ पुग्नुभएको छ ।

युक्रेनी जनताप्रति ऐक्यवद्धता जनाउन जोन्सन कीभ पुग्नुभएको बेलायती प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

कीभ पुगेर जोन्सनले युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीसँग भेटवार्ता गरेको तस्विर त्यहाँस्थित बेलायती दूतावासले सार्वजनिक गरेपछि जोन्सनको भ्रमण सार्वजनिक भएको हो ।

जेलेन्स्कीसंगै कीभका सडकमा निस्केर जोन्सनले स्थानीय सर्वसाधारणसँग पनि भेट गर्नुभएको थियो । जेलेन्स्कीको प्रशंसा गर्दै जोन्सनले बेलायत निरन्तर युक्रेन र युक्रेनी जनतासँग उभिने बताउनुभयो ।

युक्रेनलाई थप सैन्य तथा आर्थिक सहायता उपलब्ध गराउने आश्वासन दिंदै जोन्सनले कुल ७७ करोड पाउण्ड बराबरको ऋण सहयोग दिने बताउनुभयो ।

बेलायतले दश करोड पाउण्ड बराबरको हतियार सहयोग गर्ने घोषणा गरेलगत्तै जोन्सन कीभ पुग्नुभएको हो । छोटो समयको बसाईपछि उहाँ लण्डन फर्कनुभएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतवार ०८:४०