नेपाल राष्ट्र बैंक जस्तो स्वायत्त निकायमाथि सरकारले गरेको ठाडो हस्तक्षेपले अर्थतन्त्र थप संकटतर्फ उन्मुख हुने चिन्ता अर्थविद्हरुले व्यक्त गरेका छन् ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेसँगै अर्थविद् तथा पूर्वगभर्नरले पनि सरकारको कदम गलत भएको बताएका छन् । सरकारले राजनीतिक पूर्वाग्रह राखेर अधिकारीमाथि कारबाही गरेको उनीहरुको आरोप छ ।
एकातर्फ अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक हुँदै जानुु, अर्कोतर्फ राष्ट्र बैंक र अर्थ मन्त्रालयको बीचमा सम्बन्ध बिग्रिदैं गएको समयमा यस्तो निर्णय आउनुले अर्थतन्त्रलाई दुर्घटनातर्फ लगेको अर्थविद्हरु बताउँछन् ।
देशको आर्थिक अवस्था बिग्रिदैं गएको समयमा अर्थमन्त्रीले प्रणालीमाथि विश्वास नगर्दा यस्तो अवस्था सिर्जना भएको जानकारहरुको भनाइ छ ।
सरकारको यो कदमले राष्ट्र बैंकले बडो मुस्किलले प्राप्त गरेको स्वायत्ततामा ठाडो प्रहार गरेको पूर्वगभर्नर तिलक रावल बताउँछन् ।
अर्थमन्त्री र गभर्नरको बीचमा विवाद चलिरहेको समयमा भएको यस्तो निर्णयले आम जनतामा पनि गलत सन्देश जाने उनको तर्क छ ।
“कुनै व्यक्तिको नाममा अमेरिकाबाट पैसा आएको र अमेरिकी संस्था फिनसेनले त्यो पैसा फिर्ता देऊ भनेको समयमा अर्थ मन्त्रालयले भुक्तानी दिनु भन्ने अनि राष्ट्र बैंक त्यसमा अड्ने जस्तो अवस्था भएको समयमा सरकारको यस्तो कदमको गलत सन्देश जान्छ,” रावलले भने ।
यो समाचार आजको कारोबार दैनिकमा छ ।
सत्यपाटी । काठमाडौँ ।