सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निर्वाचन–२०७९

नेपालगन्जमा कसले जित्छ मेयर ?

हालसम्म भएका तीन वटा स्थानीय निर्वाचनमा नेपालगन्जमा फरक–फरक दलले जितेका छन् । २०४९ सालमा नेपाली कांग्रेसका विजयकुमार गुप्ता मेयर बने भने २०५४ सालमा एमालेबाट धवलशमशेर राणा ।

उनै राणा २० वर्षपछि भएको अर्को स्थानीय तहको निर्वाचनमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेर नेपालगन्ज उपमहानगरपालिकाको मेयर बने । २०६२–०६३ को जनआन्दोलनपछि गणतन्त्र नस्वीकार्ने भन्दै राणा एमाले छाडेर राप्रपामा प्रवेश गरेका हुन् ।

हाल राप्रपाका महामन्त्रीसमेत रहेका राणाले अब संसदीय चुनाव लड्ने भन्दै तेस्रोपटक मेयरमा नउठ्ने बताइसकेका छन् । योसँगै अब नेपालगन्जमा धवल शमशेरको उत्तराधिकारी को हुने भन्ने चर्चा तीव्र बनेको छ । राणा उम्मेदवार नबन्ने भएपछि राप्रपा नेपालगन्ज उपमहानगरको नेतृत्वमा पुग्ने सम्भावना कमजोर भएको विश्लेषण गरिएको छ ।

२०७४ सालको संसदीय चुनावमा बाँके जिल्लामा राप्रपाको समानुपातिक मत प्रतिनिधि सभातर्फ ८ हजार १०४ र प्रदेश सभातर्फ ९ हजार ९५७ हुन् । तर मेयर पदमा विजयी हुँदा राणाले जिल्लामा राप्रपाले पाएको कूल भोटभन्दा निकै बढी अर्थात् १२ हजार ५१५ मत ल्याएका थिए ।

यसरी हेर्दा नेपालगन्जवासीले दललाई भन्दा धवलशमशेरको व्यक्तित्वलाई भोट दिएका हुन् भन्न सकिन्छ । तर यसपटक उनी मेयरका लागि उम्मेदवार नबन्ने भएपछि नेपालगन्जमा प्रमुख प्रतिस्पर्धी जनता समाजवादी पार्टी र नेपाली कांग्रेसलाई ठानिएको छ । यी दुई दललाई नेकपा माओवादी केन्द्र र नेकपा एमालेले पनि पच्छ्याएको आँकलन छ ।

गत स्थानीय चुनावमा नेपालगन्जमा कांग्रेसबाट मेयरका प्रतिस्पर्धी सुरेशकुमार कनोडिया ८ हजार ७३० मतका साथ दोस्रो स्थानमा देखिएका थिए । नेकपा माओवादी केन्द्रका दामोदर आचार्य ७ हजार १९८ मत ल्याएर तेस्रो भएका थिए । एमालेका उम्मेदवार चौथो स्थानमा थिए । एमालेका समसुद्दिन सिद्दिकीले ६ हजार ९६५ ल्याएका थिए ।

चौथो स्थानमा आएको भए पनि एमालेले ७ वटा वडाध्यक्ष पद जितेको थियो । गत चुनावमा नेपालगन्जको उपमेयर पद भने नेपाली कांग्रेसले जितेको थियो । कांग्रेसकी उमा थापामगर १० हजार ७३१ मत ल्याएर विजयी भएकी थिइन् । उपमेयर पदको प्रतिस्पर्धामा राप्रपा दोस्रो, एमाले तेस्रो र माओवादी केन्द्र चौथो स्थानमा देखिएका थिए ।

आगामी मेयरका दाबेदार

हाल नेपालगन्ज उपमहानगरमा उपमेयर रहेकी उमा थापा मगरले मेयरमा दाबी गरेकी छन् । उपमेयर चलाएकाले मेयरमा आफ्नो दाबी स्वाभाविक भएको बताएकी छन् । गत चुनावमा मेयरका प्रतिस्पर्धी सुरेशकुमार कनोडियाले पनि पुनः उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् । कांग्रेसका नेपालगन्ज नगर सभापति प्रशान्त विष्ट पनि मेयरका दाबेदार हुन् ।

हालै भएको पार्टीको नगर अधिवेशनमा उमा थापा मगरलाई फराकिलो मतान्तरले हराउँदै उनी नगर सभापति पदमा विजयी भएका हुन् । आफू तीन कार्यकाल नगर सभापति भएकाले मेयरमा पनि दाबी स्वाभाविक भएको उनले बताउने गरेका छन् । गत स्थानीय चुनावमा एमालेबाट मेयरको उम्मेदवार समसुद्दिन सिद्दिकी बनेका थिए ।

पार्टी विभाजनका कारण अहिले भने उनी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा छन् । त्यसैले एमालेबाट नयाँ प्रतिस्पर्धी मैदानमा आउने छन् । गत संसदीय चुनावमा हृदयेश त्रिपाठीको समूहमा रहेर बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका पशुपति दयाल मिश्र मंसिरमा एमाले पार्टीमा प्रवेश गरेका छन् ।

कांग्रेस, तमलोपा, त्रिपाठीको समूह हुँदै अहिले एमाले बनेका उनी पार्टीको केन्द्रीय सदस्य हुन् । नेपालगन्जको मेयर पदमा एमालेबाट मिश्र नै उम्मेदवार बन्ने निश्चितजस्तै रहेको चर्चा छ । पार्टी प्रवेश गर्नुअघि नै आफ्नो आकांक्षा एमालेलाई बताएको उनले बताउने गरेका छन् । तर, उनको उम्मेद्वारीप्रति एमाले नेता कार्यकर्ता भने सन्तुष्ट छैनन् ।

मिश्रका साथै एमालेबाट जिल्ला कमिटी सदस्य कृष्णप्रसाद श्रेष्ठ, पूर्व नगर कमिटी अध्यक्ष दत्तप्रसाद आचार्य लगायत पनि मेयर पदका आकांक्षी छन् । नेकपा माओवादी केन्द्रबाट भने नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्य, प्रदेश सदस्य नविन शर्मा, जिल्ला सदस्य आदेश अग्रवालले मेयर पदको उम्मेदवार बन्ने दाबी गरेका छन् ।

नेपालगन्ज र आसपासका क्षेत्र पर्ने बाँके क्षेत्र नं.२ बाट मो.इस्तियाक राई प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका थिए । तत्कालीन संघीय समाजवादी फोरम अर्थात् अहिलेको जनता समाजवादी पार्टीबाट उनी विजयी भएका हुन् । संसदीय चुनाव जितेको क्षेत्र भएकाले नेपालगन्जमा जनता समाजवादीले आफ्नो प्रभाव अन्य पार्टीको भन्दा राम्रो रहेको छ ।

जनता समाजवादीले अहिले पनि गठबन्धन बिनै नेपालगन्ज उपमहानगरमा जित्ने दावी गरिरहेको छ । जसपाका तर्फबाट कमरुद्धिन राई मेयरको उम्मेदवार बन्ने निश्चित छ । उनी अघिल्लो चुनावका पनि प्रतिस्पर्धी थिए । गत निर्वाचनमा यो क्षेत्रमा नेपाली कांग्रेसले राप्रपालाई सहयोग गरेको थियो ।

जसपासँगै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, एमाले र राप्रपाले नेपालगन्जमा आफू बलियो भएको दाबी गर्दै प्रभाव बढाउन खोजिरहेका छन् । कांग्रेसका बाँके जिल्ला सभापति नारायण गौडेल नेपालगन्जमा आफ्नो पार्टीले सहजै जित्ने दाबी गर्छन् । ‘विगतमा उपमेयर जितेका छौं । यसपटक मेयर र उपमेयर दुवै जित्न सहज छ,’ उनले भने ।

एमालेका बाँके जिल्ला अध्यक्ष किस्मत कक्षपतिले पनि नेपालगन्ज जित्ने लक्ष्यका साथ अघि बढेको दाबी गरे । ‘०७४ मा ७ वटा वडा हामीले जितेका थियौं। अहिले संगठन चुस्त दुरुस्त ढंगले अघि बढिरहेको छ । ठूलो संख्यामा पार्टी प्रवेश पनि भएको छ,’ उनले भने, ‘एमालेको बढ्दो लोकप्रियताले नेपालगन्जमा हामीले जित्ने लक्षका साथ अघि बढेका छौं ।’

यद्यपी एमाले भने नेपालगन्जमा तेस्रो स्थानमा आउने आँकलन गरिएको छ । संसदीय चुनावमा बाजी मारेको जनता समाजवादी पार्टीले बाँकेमा गठबन्धनको औचित्य नरहेको बताइसकेको छ । अघिल्लो पटक मेयरका प्रतिस्पर्धी र यसपटकका पनि दाबेदार जसपा बाँकेका अध्यक्ष कमरुद्धिन राईले नेपालगन्जमा जसपाको प्रभाव बलियो भएकाले गठबन्धन आवश्यक नभएको बताएका छन् ।

‘हामीले तालमेल गर्नुपर्ने आवश्यकता छैन । हाम्रो संगठन मजबुत छ। त्यसको बलमा चुनाव जित्छौं,’ उनले भने, ‘चुनाव हारेपछि हामी संगठन बनाउनै खटेका छौं । प्रतिनिधि सभा चुनावमा हामी जित्यौं । अहिले पनि बलियो छौं ।’ अघिल्लो चुनावमा ४ वटा वडा जितेको माओवादी केन्द्र पनि नेपालगन्जमा आफ्नो प्रभाव बढाउन सकिन्छ कि भनेर लागेको छ ।

माओवादी केन्द्र बाँकेका निवर्तमान अध्यक्ष आइपी खरेलले अघिल्लो चुनावबाट पाठ सिकेर अहिले धेरै ठाउँ जित्नेगरी अघि बढेको बताए । ‘अहिले ७ देखि ८ वटा वडा हामी जित्छौं । गठबन्धन भए एकल लड्न परे पनि तयारी अवस्थामै छौं,’ उनले भने, ‘गएको निर्वाचन नयाँ अनुभव थियो । वडाको सेट मिलाउन सकेका थिएनौं । अहिले त्यसबाट पाठ सिकेका छौं ।’

बाँके जिल्लाको कोहलपुर नगरपालिकामा पनि चुनावी सरगर्मी बढेको छ । अघिल्लो चुनावमा कोहलपुरको मेयरमा एमालेका लुटबहादुर रावतले कांग्रेसका भानुभक्त भटराईलाई जम्मा ८३ मतान्तरले हराएका थिए । उपमेयरमा कांग्रेसकी सञ्जुकुमारी थारु विजयी भएकी थिइन् । यहाँ माओवादी र कांग्रेसलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।

एमाले विभाजनपछि संगठन कमजोर भएकाले एमालेलाई जित्न निकै कठिन छ । एमाले मुस्किलले तेस्रो स्थानमा आउने आँकलन गरिएको छ । जिल्लाका अन्य ६ वटा गाउँपालिकामध्ये ३ वटामा एमाले, दुई वटामा कांग्रेस र एउटामा संघीय समाजवादी फोरम विजयी भएका थिए । यी गाउँपालिकामा पनि अहिले चुनावी रौनक छाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार १६:३०