रातीको साढे १० बजे अर्थात् मध्यरात । कर्णाली प्रदेश २–००१ च ०५३६ र भे १ च ४०४८ नम्बरका रातो नम्बर प्लेटका गाडी । यो नेपालगन्जस्थित पुष्पलाल चोकमा बिहीबार रातीको दृष्य हो । निजी सवारी साधनलाई रातो नम्बर प्लेट दिएर सवारी बोक्न तथा भाडामा समेत चलाउन पाउँदैनन् ।
मध्यरातमा पुष्पलाल चोकमा यात्रु चढाउँदै गरेका बेला प्रहरीले रोकेपछि उल्टै प्रहरीले हप्कीदप्की खानुपर्छ । रातो नम्बर प्लेट गाडी मालिकले आफ्ना गाडी रोके प्रहरीलाई देखाइदिने भन्दै धम्कीसमेत दिन भ्याउँछन् । कान्तिपुर यातायातका प्रतिनिधि बताउने पदम थापाले रातो नम्बर प्लेटका गाडी रोक्न प्रहरीलाई खबर गरेका थिए ।
नेपालगन्जबाट पहाडी जिल्ला जाने यात्रुहरुबाट तेब्बर भाडा असुल्दै दादागिरी शैलीमा मध्यरातमा रातो नम्बर प्लेटका गाडीहरु लाइन लाग्छ । प्रहरीले रोक्न खोज्दा तेब्बर भाडा असुल्दै रातो नम्बर प्लेटका गाडी धनीहरु उल्टै प्रहरीको फुली झिकिदिने धम्की दिँदै लामो समयदेखि धमाधम भाडामा चलिरहेका छन् ।

नेपालगन्जमा अधिकांश सवारी साधनहरुले रातो नम्बर प्लेट लिई गाडीलाई खुला रुपमा भाडामा चलाउँदै आएका छन् । लामो समयदेखि त्यस्तो कार्य भैरहँदा समेत सरोकारवाला निकायहरु ट्राफिक प्रहरी र यातायात कार्यालय मुकदर्शक भएर बसेको कालो प्लेटका गाडी सञ्चालकहरुको गुनासो छ ।
ट्राफिक प्रहरीकै सेटिङ्गमा रातो नम्बर प्लेटका गाडीहरुले तेब्बर भाडा असुल्दै यात्रुहरु बोकिरहेका छन् । उक्त दिन भने अस्थायी प्रहरी पोष्ट बसपार्कको टोलीले ती गाडीहरु रोकपछि बसपार्कस्थित ट्राफिक पोष्टबाट खटिएको ट्राफिक प्रहरीले एउटा गाडीबाट ५०० र अर्को गाडीबाट १५०० रुपैयाँ जरिवाना काट्न बाध्य भएको थियो ।
ट्राफिक प्रहरीले भनेअनुसार कमिसन पाउने भएपछि सकेसम्म रातो प्लेटका गाडीतिर नजर लगाउन चाहँदैन । ‘हाकिमकै आदेश त्यस्तै छ । हामीले के गर्ने ?’ ट्राफिक प्रहरी स्रोतले भन्यो, ‘हाकिमको आदेश त पालना गर्नैपर्छ । सकेसम्म रातो नम्बर प्लेटतिर नजर लगाउँदैनौं । तर त्यो दिन हामीले बाध्य भएर जरिवाना काट्न पर्यो ।’

रातो नम्बर प्लेटका गाडी रोक्न त परै जाओस्, सामान्य जरिवानासमेत नलिन जिल्लाका हाकिमको आदेश रहेको स्रोतले बतायो । सार्वजनिक स्थलबाट ऐनविपरीत यात्रु ओसार्दै तेब्बर भाडा असुल्ने रातो नम्बर प्लेट भएका सवारी साधनले यात्रु बोक्न पाउँदैनन् र तर, ट्राफिकले कडाइ गर्नुको सट्टा सेटिङ्गमा सञ्चालन गर्न दिइरहेको छ ।
रातो नम्बर प्लेटका गाडीले यात्रुबाट झण्डै तेब्बर भाडा असुल्दै आएका छन् । निजी प्रयोजनमा मात्रै प्रयोग गर्न पाउने सवारी ट्राफिक प्रहरीकै संरक्षणमै चल्दै आएका छन् । ‘प्रयोजनविपरीत नेपालगन्जबाट तेब्बर भाडा असुल्दै यात्रु ओसार्ने रातो प्लेट नम्बरका धेरै गाडीहरुलाई ट्राफिक प्रहरीले लाइन दिएको छ,’ स्रोतले सत्यपाटीलाई भन्यो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार निजी नम्बर प्लेटका गाडीले भाडाका यात्रु बोक्न पाउँदैनन् । भाडाका यात्रु बोक्न यातायात व्यवस्था कार्यालयबाट परमिट लिनुपर्ने प्रावधान छ । तर, त्यसविपरीत झापामा निजी प्रयोजनका लागि दर्ता गरिएका सवारीले भाडाका यात्रु ओसार्दासमेत ट्राफिक प्रहरी लाइन दिएर रमिते बनेको छ ।

‘निजी गाडीले भाडामा यात्रु ओसारेर राज्यलाई कर छलिरहेका छन् । भाडाका गाडीभन्दा निजी गाडीले कम कर तिर्नुपर्ने भएकाले ठगी बढ्दै गएको छ । त्यसैमा पनि ट्राफिक प्रहरीले संरक्षण दिएपछि कानुनको खिल्ली उडाउँदै रातो नम्बर प्लेटका गाडीहरुको ठगीधन्दा मौलाएको छ,’ नेपालगन्जका एक जना यातायात व्यवसायीले भने ।
उनका अनुसार कालो नम्बर प्लेटका गाडी जुन प्रयोजनका लागि दर्ता गरिएको हो, त्यही प्रयोजनमा सञ्चालन गर्नुपर्छ । निजी गाडी नेपालको जुनसुकै ठाउँमा जान पाए पनि भाडाका गाडी आफ्नो परमिटबाहेकका स्थानमा जान पाउँदैनन् । त्यसैले पनि ट्राफिक प्रहरीको आडमा रातो नम्बर प्लेटका गाडीहरुको दादागिरी मौलाएको छ ।
ऐनको दफा १२ को उपदफा १ मा कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न नपाइने व्यवस्था छ । ऐनकै दफा १६० मा निजी गाडीले भाडाको यात्रु बोके ५०० देखि २००० सम्म जरिवाना गर्न सक्ने उल्लेख गरिएको भए पनि ट्राफिक प्रहरी भने उनै रातो नम्बर प्लेटका गाडीलाई लाइन दिएर मौन बसेको छ ।

कालो नम्बर प्लेटवालाले सरकारलाई विभिन्न पाँच शीर्षकमा राजस्व बुझाउँदै आएका छन् । तर, रातो नम्बर प्लेटवालाले भने एउटा शीर्षकमा मात्र बुझाए पुग्छ । कालो नम्बर प्लेटवालाले सवारी करबापत वार्षिक ५००० रुपैयाँ बुझाउनुपर्छ । रातो नम्बर प्लेटका सवारीले वार्षिक ८००० तिर्नुपर्ने भए पनि अन्य शीर्षकमा पैसा तिर्नुपर्दैन ।
तर, कालो नम्बर प्लेटवालाले योभन्दा थप चार शीर्षकमा पैसा बुझाउनुपर्छ । नवीकरण, प्राविधिक जाँच र पटके परमिटबापत पनि उनीहरूले पैसा तिर्नुपर्छ । नेपालको कानुनले निजी नम्बर (रातो प्लेट)का गाडीहरुलाई यात्रु ओसारपसारमा रोक लगाएको छ । जसको कारण यात्रु बोक्ने साधनको रुपमा भाडाका गाडी (कालो प्लेट) तथा पर्यटक गाडी (हरियो प्लेट)का गाडी प्रयोग हुने गर्दछ ।
सत्यपाटी । बाँके ।