सूचनाको शक्ति - The Power Of Information

        

यौन दुर्व्यवहार : २० दिनमा चार शिक्षक पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले बाल यौन दुर्व्यवहारको आरोपमा विगत २० दिनमा समातेका पाँच जना पुरुष मध्ये चार जना शिक्षक छन् । बिहीबार मात्रै दुई जना शिक्षक विद्यालय भित्रै बाल यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेपछि प्रहरी हिरासतमा पुग्ने शिक्षकको चार जना पुगेका हुन् ।

यी चार घटना यहि चैत महिनाको २० दिन यताको हो । जहाँ विद्यार्थीहरूले शिक्षक अभिभावक सहित विद्यालय पोशाकमै प्रहरी कार्यालय पुगेर आफूमाथि भएको दुर्व्यवहार सुनाए । कहिले पास गरिदिने बाहनामा, कहिले माया गरेको तरिकाले उनीहरूका सवेदनशिल अंगमा छुने, सुम्सुम्याउने अनि सामाजिक सञ्जालमार्फत अश्लिल भिडियो, सन्देश पठाएको आरोप ती शिक्षकहरूमाथि छ ।

सबै घटना शिक्षकहरूले गरेका दुर्व्यवहार विद्यालयमा नै पटकपटक भन्दा पनि सुनुवाइ नभएपछि परिवार हुँदै प्रहरीसम्म आइपुगेका हुन् । बिहीबार भरतपुरको वडा नम्बर १३ मा रहेको श्री माध्यमिक विद्यालय गंगानगरका १२ र १३ वर्षका दुई बालिकाले आफूलाई पढाउने दुई शिक्षकले लगातार यौन दुर्व्यवहार गर्दै आएको घटना प्रहरी कार्यालयमा पुगेर सुनाए ।

अभिभावसहित प्रहरी कार्यालय पुगेका उनीहरूले कक्षा ४ र कक्षा छ मा एउटै विद्यालयमा पढ्ने दुई बालिकाले आफ्नै शिक्षकले कक्षा १ देखि नै यौन दुर्व्यवहार गर्दै आएको जाहेरी दिए । कक्षा ४ मा पढ्ने बालिकाले ५८ वर्षका श्क्षिक फणीन्द्र भट्टराईले यौन दुर्व्यवहार गर्दै आएको बताइन् ।

सोही विद्यालयमा कक्षा ६ मा पढ्ने १२ वर्षकी बालिकाले सोही विद्यालयका ५२ वर्षका शिक्षक विमलप्रसाद देवकोटाले विभिन्न बाहनामा संवेदनशिल अंग छुने, पाइन्टको चेन नै खोलिदिने लगायतका व्यवहार गरेको उजुरी जिल्ला प्रहरी कार्यालय चितवनमा दिइन् । प्रहरीले बिहीबार नै दुबैजनालाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनमा प्रवक्ता डिएसपी नरहरि अधिकारीले उनीहरूलाई अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको जानकारी दिए । चैतकै १४ गते यौन दुर्व्यवहारकै उजुरीमा चितवनको वडा नम्बर १९ को सर्वोदय बोर्डिङ स्कूलमा शिक्षक कृष्ण गुरुङ प्रहरी हिरासतमा नै छन् ।

उनमाथि कक्षा ७ मा पढ्ने बालिकालाई फेसबुकबाट अश्लिल म्यासेज पठाउने, संवेदनशिल अंगमा छुने, सुम्सुम्याउने लगायतको आरोपसहितको उजुरी पीडितले गरेकी छिन् । प्रहरीले अनुसन्धान अघि बढाइरहेको जानकारी दिएको छ । यहि चैतको ४ गते माडीको सोमेश्वर माध्यमिक विद्यालयका शिक्षक सुरज लामिछानेले कक्षा ९ मा पढ्ने बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

उक्त घटना त गाउँमै मिलाउन प्रहरीकै रोहबरमा सर्वदलीय छलफल समेत भएको थियो । पीडितले घटना मिलाउन नमानेपछि उनलाई पनि प्रहरी हिरासतमा राखियो । २० दिनअघि पक्राउ परेका उनी प्रहरी हिरासतमा नै छन् । चितवनका प्रहरी प्रवक्ता डिएसपी अधिकारीले लामिछानेको आरोपको अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिए । अनुसन्धान सकिएपछि आरोपी शिक्षकलाई अदालत पेश गर्ने प्रहरीको तयारी छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार १२:३६