प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं आज नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन ।
केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् । आश्विन शुक्लपक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ ।
यसैले आश्विन शुक्ल पक्षको दशैंलाई बडादशैं भनिन्छ । बडादशैंमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ । चैते दशैंमा भने त्यो परम्परा धेरै परिवारमा छैन ।
हनुमानढोका दशैंघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ ।
अष्टमीको दिनलाई चैतेदशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रूपमा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ ।
बडादशैंजस्तै चैते दशैंको पूजा उपासनाका मुख्य उद्देश्य यो लोकमा सुख‚ शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वाद लिनका लागि हो । बडादशैंमा जस्तै चैते दशैंमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ ।
काठमाडौं उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दशैंका अवसरमा विशेष पूजा हुन्छ ।
यसैगरी उपत्यकाबाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवी लगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ ।
चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
सत्यपाटी । काठमाडौं ।