सूचनाको शक्ति - The Power Of Information

        

समाचार

नेपालगन्ज नाकाबाट ४९९ महिला तथा बालबालिकाको उद्धार

मानव बेचबिखन विरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका ४९९ महिला तथा बालबालिकालाई नेपालगन्ज नाकाबाट उद्धार गरेको छ ।

पछिल्लो एक वर्षको अवधिमा नेपालगन्जस्थित जमुनाह नाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका ४९९ महिला तथा बालबालिकालाई उद्धार गरिएको माइती नेपाल नेपालगन्जका संयोजक केशवराज कोइरालाले जानकारी दिए । उनका अनुसार नेपाल–भारत सिमाना जमुनाह नाकाबाट नेपाल प्रहरी समेतको सहयोगमा उनीहरूलाई उद्धार गरिएको हो ।

यो अवधिमा भारत तथा खाडी मुलुकबाट १० जनाको उद्धार गरिएको छ । एक वर्षको अवधिमा ५२६ जनाको खोजतलास तथा उद्धारको निवेदन परेकामा २१३ जना फेला परेका छन् । घरेलु हिंसाका १८ घटनामा परामर्श प्रदान गरिएको माइती नेपालका संयोजक कोइरालाले बताए ।

माइती नेपालले उक्त नाकामा सूचना तथा परामर्श केन्द्र स्थापना गरी जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकाको उद्धार, भारतलगायतका देशमा यौन एवं श्रम शोषणमा परेका महिला तथा बालबालिकाको उद्धार, आवासीय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा समेतका सेवा प्रदान गर्दै सीपमूलक तालिमसहित परिवार र समाजमा पुनः मिलनका कार्य गर्दै आइरहेको छ ।

स्थापनाको ३० औँ वार्षिकोत्सवका अवसरमा माइती नेपालले नेपालगञ्जमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको छ । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध विद्यालयस्तरीय अभिमुखीकरण, नेपाल–भारत सिमाना जमुनाह नाकालगायत विभिन्न स्थानमा सडक अन्तरक्रियासहित जनचेतनामूलक पोष्टर, पम्प्लेट टाँस्नुका साथै सूचना एवं चेतनामूलक सन्देशहरू वितरण, प्रसारण गरिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ०८:२५