सूचनाको शक्ति - The Power Of Information

        

आलेख

प्रहरीमा बदनामहरुलाई अवसर, चुनावी सुरक्षामै गम्भीर प्रश्न

चुनावको मुखमा नेपाल प्रहरीमा बदनामहरुको राज चलेको छ । जिल्लादेखि वडा प्रहरी कार्यालयसम्म विवादास्पद अधिकृतलाई जिम्मेवारी दिँदा चुनावी सुरक्षामै प्रश्न उठेको छ । प्रहरीमा पूर्णरुपमा राजनीतिक नेतृत्व हावी हुँदा बदनामहरुले अवसर पाएका हुन् ।

चुनावको मुखमा यसरी प्रहरीमाथि राजनीतिकरण हुँदा निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरिएको छ । हालै गरिएका एसपी र डीएसपी सरुवामा व्यापक राजनीतिकरण भएको हो । देशका संवेदनशील जिल्लामा बदनाम अधिकृतलाई पठाइएको छ ।

मोरङका एसपी जनार्दन जिसीलाई नौ महिनामै तानेर शान्तिराज कोइरालालाई पठाइएको छ । रामहरी खतिवडा लगायत कांग्रेस नेताहरुकै दबाबमा मोरङका एसपीको अवधि नपुगी सरुवा गरिएको स्रोत बताउँछ ।

त्यस्तै, सिन्धुपाल्चोकको सरुवाले त प्रहरी अधिकारीकै शिर निहुरिएको छ । करिब २० महिनापछि एसपी हेरफेर भएकोमा गत वर्ष मात्र भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका एसपी रामेश्वरप्रसाद यादबलाई पठाइएको छ ।

प्रदेश ट्राफिक कार्यालय सुर्खेतमा कार्यरत रहँदा उनले आफु मातहतकै प्रहरीसँग हप्ता असुल्ने गरेको पुष्टि भएको थियो । छानबिन प्रतिवेदन अख्तियारमा पठाएको भए जागिरै जाने अवस्था भएपछि उनलाई सामान्य कारबाही गरेर जोगाइएको थियो ।

इन्सपेक्टरमा पनि लागूऔषधको मुद्दामा घुस खाँदा उनी निलम्बनमा परेका थिए । जिल्लामा कति कमजोर एसपीलाई पठाइएको थियो भन्ने सर्लाहीबाट पनि पुष्टि हुन्छ । जहाँ कांग्रेस नेताकै दबाबमा एसपी कृष्ण प्रसाईलाई पठाइएकोमा चार महिनामै उनलाई हटाउन गृह मन्त्रालय बाध्य बनेको छ ।

जिल्लामा शान्ति सुरक्षा कायम नै गर्न नसकेपछि उनलाई गत साता हटाइएर प्रवीण पोखरेललाई पठाइएको छ । रौतहटमा पनि विवादास्पद एसपी छन् । राष्ट्रिय अनुसन्धान विभागबाट आएका बिनोद घिमिरेलाई रौतहटको जिम्मेवारी दिइएको छ । त्यसअघि सिद्धिबिक्रम शाहलाई हटाएपछि उनलाई त्यहाँ खटाइएको थियो ।

अर्काे महत्वपूर्ण जिल्ला मकवानपुरमा त्यस्तै अवस्था छ । गोरखामा हुँदा कारबाहीमा परेका सुरेन्द्र गुरुङ हाल मकवानपुरको एसपी छन् । उनी गएसँगै जिल्लामा अवैध क्रसरहरु सञ्चालन भइरहेको स्रोत बताउँछ । उनी पनि कांग्रेस नेताहरुलाई नै खुशी बनाएर मकवानपुर इन्चार्ज भएका हुन् ।

बारामा डीएसपी हुँदा कारबाहीमा परेका राजेन्द्रबाबु रेग्मी तनहुँको एसपी छन् । कार्यक्षमतामा निकै कमजोर रेग्मीको क्षमता कांग्रेस नेताहरुसँगको निकटता मात्र हो । गोरखाका केदार खनाल कार्यक्षमतामा कमजोर र पैसा उठाउन बलिया अधिकृतका रुपमा चिनिन्छन् ।

कीर्तिपुर वृत्तमा हुँदा उनलाई तत्कालीन एसपी रमेश खरेलले हत्कडी लगाएर थुनेका थिए । म्याग्दी र बाग्लुङको प्रहरी इन्चार्जमा पनि बदनामहरुकै हालीमुहाली छ । घुस काण्डमा परेका दयानिधी ज्ञवालीलाई बाग्लुङ पठाइएको छ । त्यस्तै, दरबारमार्ग वृत्तमा हुँदा बलात्कार मुद्दा जस्तो गम्भीर अपराध मिलापत्र गराउने तिलक भारती म्याग्दी पुगेका छन् ।

त्यस्तै यसअघि दुई पटक इन्चार्जको अवसर पाएका कुलदिप चन्द सुदुरपश्चिमकै भएकाले रसुवा जाने अवसर पाएका छन् । त्यस्तै काभ्रेका एसपी चक्रराज जोशीलाई बढुवा भएको एक महिनामै काभ्रे पठाइएको थियो । सुदुरपश्चिमको भएकै नातामा उनले यो अवसर पाएका हुन् ।

विगतमा कारबाही भोगेका विमलराज कँडेललाई सिन्धुलीको जिम्मेवारी दिइएको छ । त्यस्तै बढुवा भएको एक वर्ष पनि नभई ऐनबहादुर मल्ललाई कोहलपुरको जिम्मेवारी दिइएको छ । बढुवा हुनुअघि उनी बाँकेमै ट्राफिक इन्चार्ज थिए । बाँकेमा हाल ट्राफिक इन्चार्ज हुने हिमालय शाह पनि बढुवालगत्तै इन्चार्जमा आइसकेका छन् ।

उनी विगतमा प्रधानमन्त्री देउवाको सुरक्षामा बसेका थिए । सइ हुँदा उनी जेल परेका प्रहरी हुन् । हाल चलखेलकै आधारमा अवधि नपुगी उपत्यकाका केही वृत्तका डीएसपीलाई हटाउन लागिएको स्रोत बताउँछ । यसअघि दरबारमार्ग वृत्तमा पटक–पटक कारबाही भोगेका विश्व खड्कालाई पठाइएको थियो ।

गृहमन्त्रीलाई काका नाता लगाएकै आधारमा उनले त्यो अवसर पाएका हुन् । अत्याधिक दबाब र चलखेलकै कारण सिनियर अफिसरको ९९ प्रतिशत सरुवा नेता र बिचौलियाको सिफारिसमा भइरहेको स्रोत बताउँछ । इन्सपेक्टर सरुवामा यस्तै चलखेलका कारण ढिलाई हुँदा हिजोमात्रै सरुवा गर्न सकेको छ ।

प्रधानमन्त्री र गृहमन्त्रीको सचिवालयलाई प्रभावमा पारेर प्रहरीमा सरुवा गर्ने समूह नै सक्रिय हुने स्रोत बताउँछ । बालुवाटार क्षेत्रका रेष्टुरेन्टमा बसेर सो समूहले सरुवाको सूची बन्ने गर्छ । यस्ता सूची प्रहरी महानिरीक्षकबाट सहजै सदर हुन थालेपछि अवकाशको मुखमा शैलेश थापा क्षेत्री अलोकप्रिय बनेका छन् ।

त्यसो त नयाँ सरकार गठन हुने बेला नै नेपाली कांग्रेसले अर्थ मन्त्रालय छाडेर गृह मन्त्रालय रोज्नुका पछाडी प्रहरीमा कांग्रेसको ठूलो चासो छ भन्ने प्रष्ट देखिएको थियो । तर, त्यसको पछाडि उसको गलत उदेश्य देखिएको छ । प्रहरी संगठनलाई हातमा लिने रणनीति कांग्रेसले लिएको छ ।

जसबाट संगठनका क्षमतावान र इमान्दार अधिकृतहरु मर्कामा परेका छन् । जसकारण प्रहरी संगठन कमजोर बनेको छ । तत्कालका लागि यसबाट कांग्रेसलाई फाइदा भए पनि यसरी प्रहरीमाथि भएको राजनीतिकरणले कुनै दिन यसको असर उसैले भोग्नुपर्ने अवस्था आउने प्रहरी अधिकारीहरुको चेतावनी छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ०७:४६