सूचनाको शक्ति - The Power Of Information

        

डुडुवाका सबै नागरिकको स्वास्थ्य विमा

बाँके डुडुवा गाउँपालिकाले पहिलो पटक सबै नागरिकहरुको स्वास्थ्य विमा गर्न शुरु गरेको छ । घरघरमा स्वास्थ्य सेवा अभियान अन्तरगत हरेक नागरिकको विमा गरी बढीमा दुई लाखसम्मको उपचार सेवा प्रदान गरिनेछ ।

प्रतिपरिवार रु ७०० का दरले परिवारिक संख्याका आधारमा विमा गरिनेछ । गाउँपालिकाले लिएको लक्ष्य अनुसार हाल ५० प्रतिशत गाउँपालिकाले सहयोग गर्ने र ५० प्रतिशत रकम स्वयम् विमाकर्तालाई बुझाउनुपर्ने डुडुवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए ।

प्रतिपरिवारले एक वर्षमा रु २० हजार बराबरको निशुल्क औषधी उपचार सेवा पाउनेछ । विमाका लागि डुडुवा वडा नं.१ देखि ६ वडासम्म ६ जनालाई विमा सहायकमार्फत नागरिकहरुको विवरण संकलन गरि विमा गर्नका लागि ती कर्मचारीलाई एन्ड्रोइड मोबाइल सेट, झोला तथा स्टेश्नरीका सामाग्री हस्तान्तरण गरिएको छ ।

सामाग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीेले डुडुवामा बसोबास गर्ने अधिकास नागरिकको आर्थिक अवस्था कमजोर भएकाले विरामी भएपछि उपचार गर्न नसक्ने जनताको विमामार्फत उपचार सेवा प्रदान गर्न सहज हुने बताए ।

उनले डुडुवाका नागरिकको घरघरमा सेवा प्रदान गर्ने लक्ष्यअनुसार कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहुन भनेर यो अभियान शुरु गरेको र गाउँपालिकामै विशेषज्ञ सेवामार्फत उपचार गर्ने बताए । गाउँपालिकाले ७० वर्ष पुगेका जेष्ठ नागरिक तथा अपांगता भएकाहरुको निशुल्क विमा गरेको छ भने अन्य मानिसहरुको ५० प्रतिशत सहयोग गरेको छ ।

पहिलो पटक डुडुवाले स्वास्थ्य विमा कार्यक्रम ल्याएको छ । डुडुवाले जेष्ठनागरिकहरुका लागि छुट्टै अस्पताल निर्माण गरिरहेको छ । अस्पतालमार्फत विशेषज्ञ चिकित्सक, ल्याब, एक्सरे सेवा, फार्मेसी लगायतको सेवा प्रदान गर्ने गरी तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार १७:३२