सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन–२०७९

निर्वाचन लक्षित सुरक्षा रणनीति बनाउन बाँके प्रहरी ब्यस्त

बाँकेका कुन स्थानीय तहबाट कति भए म्यादी ? (सूचीसहित)

बाँकेको नरैनापुर गाउँपालिकाका मतदान केन्द्र तथा स्थलको अनुगमन गर्दै बाँकेका सुरक्षा अधिकारीहरुको टोली ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै बाँके प्रहरी सुरक्षा रणनीति बनाउन ब्यस्त देखिएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा कायम गरिएका मतदान स्थल तथा केन्द्रहरुको सुरक्षा प्रबन्धलाई ध्यानमा राखेर निर्वाचन सुरक्षा रणनीति बनाउन बाँके प्रहरी ब्यस्त देखिएको छ ।

बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिकामा कायम गरिएका १३६ मतदान स्थलमध्ये ११२ मतदान स्थललाई अतिसंवेदनशील र २४ वटा मतदान स्थललाई संवेदनशील तोकिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले सत्यपाटीलाई जानकारी दिए ।

भौगोलिक अवस्था र खुला सीमाना लगायतका कारण सुरक्षा संवेदनशीलता भए पनि बाँकेको सुरक्षा प्रहरीको ‘अण्डर’मा रहने प्रहरी उपरीक्षक अधिकारीले बताए । निर्वाचनमा मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी गराउन सुरक्षा अवस्थाको विश्लेषण गरिरहेको पनि प्रहरी उपरीक्षक अधिकारीले सत्यपाटीलाई जानकारी दिए ।

स्थानीय तहको निर्वाचनका समयमा मतदान स्थल तथा मतदान केन्द्रसम्म जानको लागि बाटोको अवस्था, मतदान स्थल तथा केन्द्रको सुरक्षाको अवस्था र मतदाताको मनोभावना बुझेर निर्वाचन लक्षित सुरक्षा रणनीति बनाइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

‘बाँकेका सबै स्थानीय तहका मतदान स्थलमा पुगेर त्यहाँको भौतिक पूर्वाधारको अवस्था र सुरक्षाको प्रबन्ध मिलाउन हामी अनुगमन पनि गरिरहेका छौं,’ प्रवक्ता न्यौपानेले सत्यपाटीलाई बताए । उनले निर्वाचनलाई अत्यन्त मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्नको लागि सुरक्षा व्यवस्था बलियो बनाउन कुनै कसर बाँकी नराख्ने पनि बताए ।

स्थानीय तहको निर्वाचनका लागि सुरक्षा व्यवस्थाको आवश्यक तयारीमा प्रहरी जुटिसकेको पनि उनले बताए । ‘निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न हामीले आन्तरिकरुपमै आवश्यक सुरक्षा तयारी थालिसकेका छौं,’ प्रवक्ता न्यौपानेले भने, जिल्लास्थित सुरक्षा समितिले पनि सुरक्षा योजना बनाएपछि थप रणनीति तय हुनेछ ।’

स्थानीय तहको निर्वाचनका लागि बाँकेमा १ हजार ३३० जना प्रहरीसँगै १ हजार ६६८ जना म्यादी प्रहरी पनि परिचालन हुनेछन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार अति संवेदनशील रहेका ११२ मतदान स्थलमा १३ जनाका दरले सुरक्षाकर्मी खटाइनेछ ।

संवेदनशील रहेका २४ वटा मतदान स्थलमा पनि आवश्यकताका आधारमा सुरक्षाकर्मी खटाइनेछ । मतदान स्थलको सुरक्षाका लागि पैदल, गाडी र हवाई गस्ती पनि सँगसँगै हुने प्रवक्ता न्यौपानेले जानकारी दिए । उनले भने, ‘तीन वटै सुरक्षा अङ्गले मतदान स्थलको सुरक्षाका लागि संयुक्त गस्ती गर्नेछन् ।’

संवेदनशील मानिएका जिल्लाका मतदान स्थलका लागि तीन वटै सुरक्षाकर्मीको मोबाइल गस्ती परिचालन हुने, अनुसन्धान अधिकारी खटाउने र निगरानीको विशेष व्यवस्था गर्ने गरी सुरक्षा तयारी रहने पनि प्रवक्ता न्यौपानेले सत्यपाटीलाई बताए । उनले निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन केन्द्रको स्थलगत अनुगमन तीव्र पासरएको बताए ।

जिल्लामा कायम गरिएका मतदानस्थल र मतदान केन्द्रको सुरक्षा दृष्टिकोणले समग्र अवस्था बुझ्न तथा सोहीबमोजिम स्थानीय सुरक्षा रणनीति तयार पार्न मतदान केन्द्रहरुको अनुगमन भइरहेको बताए । उनले निर्वाचनमा शान्ति सुरक्षालाई चुस्त र भयरहित निर्वाचन सम्पन्न गर्न स्थलगत रूपमा मतदानस्थलमै पुगेर समग्र अवस्था अध्ययन गरिरहेको बताए ।

निर्वाचन सुरक्षालाई लक्षित गरेर अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदान केन्द्र निश्चित गरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको पनि बताए । निर्वाचन आयोगले बाँकेका ८ स्थानीय तहमा १३६ मतदान स्थल र ३७९ मतदान केन्द्रमध्ये ६ वटा स्थानीय तहका १०१ मतदानस्थल अतिसंवेदनशील तोकेको छ ।

कुन स्थानीय तहबाट कति भए म्यादी ?

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेमा १ हजार ६६८ म्यादी प्रहरी छनौट भएका छन् । छनौट भएसँगै उनीहरु यही चैत २८ गतेदेखि तालिममा सहभागी हुने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

‘अन्तिम नजिता प्रकाशन भइसकेको छ । छनौट भएकाहरुलाई २७ गते सम्पर्क गर्न भनेका छौं । २८ गतेदेखि १० दिनसम्म तालिम दिएर निर्वाचनमा खटाउँछौं,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रशासन शाखा प्रमूख एवं प्रहरी निरिक्षक चक्र डमरपालले जानकारी दिए ।

बाँकेमा छनौट भएका म्यादी प्रहरीमध्ये सबैभन्दा धेरै बैजनाथ गाउँपालिकाका २५३ जना छनौट भएका छन् भने सबैभन्दा कम जानकी गाउँपालिकाका २२ जना छनौट भएका छन् । प्रशासन शाखाका अनुसार राप्तीसोनारीका २४९, खजुराका १९५, कोहलपुर नगरपालिकाका १६५ र नरैनापुर गाउँपालिकाका २५ जना छनौट भएका छन् ।

बाँकेमा म्यादी प्रहरीमा बाहिरी जिल्लाका ५९७ जना छनौट भएका छन् भने नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका १६२ जना छनौट भएको प्रशासन शाखा प्रमूख डमरपालले जानकारी दिएका छन् । छनौट भएकामध्ये १ हजार ११३ जना पुरुष र ५५५ जना महिला रहेका छन् ।

बाँकेमा तीन लाख २९ हजार ४७३ मतदाता

एक उपमहानगरपालिका, एक नगरपालिका र छ वटा गाउँपालिका गरी आठ वटा स्थानीय तह रहेको बाँके जिल्लामा तीन लाख २९ हजार ४७३ मतदाता रहेका छन् । निर्वाचन कार्यालय बाँकेका अनुसार १ लाख ६७ हजार ३४९ पुरुष, १ लाख ६२ हजार ११७ महिला र ७ अन्य रहेका छन् ।

बाँकेमा सबैभन्दा धेरै मतदाता नेपालगन्ज उपमहानगरपालिकामा ८१ हजार ७९४ रहेको निर्वाचन कार्यालयले जनाएको छ । कोहलपुर नगरपालिकामा ५६ हजार ७९७ मतदाता रहेका छन् भने बैजनाथ गाउँपालिकामा ४५ हजार १२३ र राप्तीसोनारी गाउँपालिकामा ४४ हजार ८१२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार खजुरा गाउँपालिकामामा ३७ हजार २६४ मतदाता रहेका छन् । त्यस्तै जानकी गाउँपालिकामा २२ हजार ८२९, डुडुवा गाउँपालिकामा २२ हजार २५५ मतदाता रहेका छन् भने नरैनापुरमा गाउँपालिकामा १८ हजार ५९९ मतदाता रहेको निर्वाचन कार्यालयलेले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार ११:२२