आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा बाँकेका सुरक्षा अधिकारीले जिल्लाका निर्वाचन केन्द्रको स्थलगत रूपमा अनुगमन निरीक्षण गर्ने कार्यलाई तीव्र पारेका छन् ।
जिल्लामा कायम गरिएका मतदानस्थल र मतदान केन्द्रको सुरक्षा दृष्टिकोणले समग्र अवस्था बुझ्न तथा सोहीबमोजिम स्थानीय सुरक्षा रणनीति तयार पार्न मतदान स्थलको स्थलगत अनुगमन सुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।
उनले निर्वाचनमा शान्ति सुरक्षा प्रमुख विषय भएको जनाउँदै सुरक्षा अवस्थामा कुनै चुक हुन नदिन स्थलगत रूपमा मतदानस्थलमै पुगेर समग्र अवस्था अध्ययन गरिरहेको बताए ।
हालसम्म डुडुवा र जानकी गाउँपालिकाबाहेक अन्य सबै ६ वटा पालिकामा रहेका मतदानस्थल र मतदान केन्द्रको अनुगमन गरिसकेको पनि उनले बताए ।
बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले निर्वाचन सुरक्षालाई लक्षित गरेर आफूहरूले फिल्डमा गएर अनुगमन गरिरहेको जनाउँदै सुरक्षा संवेदनशीलता र बनाउनुपर्ने योजनाका लागि पूर्वतयारी भइरहेको बताए ।
उनले अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदान केन्द्र निश्चित गरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको बताए । निर्वाचन आयोगले बाँकेमा १३६ मतदान स्थल र ३७९ मतदान केन्द्र निर्धारण गरेको छ ।
बाँकेका आठ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहका १०१ मतदानस्थल अति संवेदनशीलको अवस्थामा रहेको यसअघि नै ठहर गरिसकिएको छ ।
सत्यपाटी । बाँके ।