सूचनाको शक्ति - The Power Of Information

        

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट रुस निलम्बित

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद (युएनएचसिआर) बाट रुस निलम्बित भएको छ।

संयुक्त राष्ट्रसंघको महासभाले बिहीबार रुसलाई युएनएचसिआरबाट निलम्बित गर्ने पक्षमा मतदान गरेको हो । युक्रेन युद्धमा ‘युद्ध अपराध’ र अत्याचार गरेको आरोपकाबीच रुसलाई युएनएचसिआरबाट निलम्बित गरिएको हो ।

बिहीबार संयुक्त राष्ट्रसंघमा भएको मतदानमा ९३ देशले रुसलाई निलम्बित गर्ने पक्षमा मत दिएका हुन् । २४ देशले विपक्षमा मत दिँदा ५८ देश भने अनुपस्थित रहे ।

रुसले युक्रेनमा अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन गरेको तथा नियोजित रुपमा मानवअधिकार विपरित काम गरेको हुनुसक्ने प्रति गम्भीर ध्यानाकर्षण भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई युएनएचसिआरबाट निलम्बित गरिनु स्वागत योग्य रहेको बताएका छन् । यसले युक्रेनमा रुसी युद्धका कारण भएको अपराधको गम्भीरतालाई पनि देखाउने उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार ०९:२७