सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमितहरूमा रगत जम्ने खतरा धेरै !

हालै स्विडेनमा गरिएको एउटा अध्ययनले कोभिड संक्रमण भएको ६ महिनासम्म गम्भीर तरिकाले शरीरमा रगत जम्ने समस्या विकास हुनसक्ने खतरा धेरै भएको तथ्य पत्ता लगाएको छ ।

अनुसन्धानमा कोरोना भाइरस महामारीको पहिलो लहरमा गम्भीर रूपमा कोभिड संक्रमित भएका मानिसहरूमा यो खतरा बढी रहेको बताइएको छ । अनुसन्धानकर्ताहरूले यस तथ्यले कोरोना भाइरसविरुद्ध खोप लगाउनु महत्वपूर्ण रहेको पुष्टि गरिरहेको दाबी गरेका छन् ।

यसै सम्बन्धमा बेलायतमा गरिएको प्रमुख अनुसन्धानले खोप लगाइसकेपछि पनि शरीरमा रगत जम्ने समस्या आउनसक्ने तर त्यसको सम्भावना तुलनात्मक रूपमा निकै न्यून रहेको जनाएको छ ।

वैज्ञानिकहरूले भनेका छन्, ‘कोभिड–१९ बाट संक्रमित भएका व्यक्तिहरूमा रगत जम्ने समस्या विकास हुने खतरा धेरै हुन्छ । त्यसमा पनि अस्पतालमा भर्ना भएकाहरूमा बढी यो खतरा रहन्छ ।’ अहिले वैज्ञानिकहरूले त्यो खतरा कहिले सामान्य स्तरमा फर्किन्छ भन्ने जान्ने कोसिसमा लागिपरेका छन् ।

अनुसन्धानकर्ताहरूले सन् २०२० को फेब्रुअरी देखि २०२१ को मे महिनासम्म स्विडेनमा कोभिड संक्रमित भएका दस लाखभन्दा बढी मानिसहरूका स्वास्थ संक्रमित नभएका सोही उमेर र लिंगका चालिस लाख मानिससँग तुलना गरेका थिए ।

कोभिड संक्रमित भइसकेकाहरूलाई तीन महिनासम्म खुट्टामा रगत जम्ने अर्थात डिप भेन थ्रोम्वोसिस (डीभीटी) हुन सक्छ । ६ महिनासम्म फोक्सोमा वा मुटुको धमनीमा यो समस्या देखापर्न सक्छ । त्यसैगरी शरीरमा आन्तरिक रक्तश्राव जस्तै मस्तिष्कघात हुने प्रवल सम्भावना दुई महिनासम्म रहन्छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार ०७:३७