नेकपा एमालेका सुदुरपश्चिम प्रदेश कमिटी सदस्य कलकबहादुर खड्काले आफुलाई अपहरण शैलीमा लिइ जवरजवस्ती रंग लगाएर पार्टी प्रवेश गरेको भनेर नेकपा माओवादी केन्द्र जिल्ला कमिटी बझाङका नेता कार्यकर्ताले नाटक गरेको बताएका छन् ।
चैत २२ गते माओवादी केन्द्र बझाङका केहि नेता तथा कार्यकर्ताहरुले बसौं भेटघाट गरौं भनेर खबर गरेपछि केहि साथीहरुसँग भेटघाट भएको बताए । उनीहरुले माओवादीमा फर्के भनेर सामाजिक सञ्जालमा प्रचारसमेत गरेकोमा खड्काले विज्ञप्ती जारी गर्दै आफू एमालेमै रहेको बताएका छन् ।
भेटघाट र बसाईको क्रममा आफुलाई पूर्वमाओवादीका मान्छे माओवादीमा आउनुपर्यो भनेर प्रस्ताव राखेको र आफुले माओवादी पछिल्लो समयमा माओवादी पार्टी दक्षिणपन्थी अवसरवादमा फसिसकेको र आफु एमालेमै रहेको बताएपछि जवरजवस्ती शरीरमा रंग फालेको बताए ।
त्यसैगरी नेकपा एमाले जिल्ला कमिटी बझाङले समेत पत्रकार सम्मेलन गरी प्रेस विज्ञप्ती जारी गरेको छ । उक्त विज्ञप्तीमा प्रदेश कमिटी सदस्य खड्कालाई चैत २२ गतेका दिन नेकपा माओवादी केन्द्रमा फर्केको भनेर सामाजिक सञ्जालमार्फत खड्काको व्यक्तिगत तथा राजनीतिक जिवनमा आँच आउने तरिकाले भ्रम छरेको र खड्कालाई २३ गतेसम्म सम्पर्कविहिन बनाएकोप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
साथै पार्टीले यस्तो गलत क्रियाकलाप नगर्न नगराउन नेकपा एमाले जिल्ला कमिटी बझाङले चेतावनी दिदै त्यस्ता कार्यहरु फेरि दोहोरिएमा त्यसको प्रतिकार गर्नेसमेत नेकपा एमाले जिल्ला कमिटी बझाङका अध्यक्ष दमनबहादुर भण्डारी र सचिव आनन्दलाल विश्वकर्माले हस्ताक्षर गरी जारिगरेको विज्ञप्तीमार्फत जानकारी गराएको छ ।
सत्यराज सिंह । बझाङ ।