सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा तीन दिनदेखि ‘लु’

बाँकेमा तातो हावा ‘लु’ चल्न थालेको छ। जल तथा मौैसम विज्ञान विभागको नेपालगन्जको राँझास्थित हावापानी कार्यालयका प्रमुख पलबहादुर विकका अनुसार तीन दिनदेखि लु चलेको हो।

घरभित्र चलेको पंखाले पनि तातै हावा फाल्ने गरेको छ। दिनमा पटक–पटक विद्युत् काटिने भएकाले नागरिकलाई झनै सास्ती छ।

अप्रिलका ६ दिनमा ३ डिग्री तापक्रम वृद्धि भएको छ। प्रमुख विक भन्छन्, ‘अहिले नै डराउनुपर्ने अवस्था होइन। गत वर्षकै सरदर तापक्रम हो।’ तर, गत वर्षको यही अवधिमा भने साढे २ डिग्री सेल्सियसले तापक्रम बढी भएको छ। गत वर्ष अप्रिल पहिलो सातासम्म ३७ डिग्री सेल्सियसभन्दा बढी तापक्रम थिएन।

यो वर्ष १ अप्रिलमा अधिकतम् तापक्रम ३६.३ डिग्री सेल्सियस मापन भएको थियो। हरेक दिन तापक्रम बढ्दो क्रममै छ। २ तारिखमा ३६.६, ३ तारिखमा ३७.१, ४ तारिखमा ३९.३, ५ तारिखमा ३८.८ डिग्री तापक्रम मापन भएको छ।

मंगलबार देशमै सबैभन्दा बढी तापक्रम नेपालगन्जमा ३८.८ डिग्री सेल्सियस थियो। नेपालगन्जपछि धनगढीमा ३८ डिग्री सेल्सियस मापन भएको थियो।

गत वर्ष सबैभन्दा बढी तापक्रम २८ अप्रिलमा ४१.७ डिग्री सेल्सियस भएको थियो। यो वर्ष भने तीन सातायता नै सोमबार यो वर्षका सर्वाधिक तापक्रम ३९.३ डिग्री सेल्सियस मापन भइसकेको छ।

सन् २०१९ मा ४३.५ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो। १० वर्षयता सन् २०१२ मा भने नेपालगन्जको तापक्रम ४५ डिग्रीसम्म पुगेको थियो। त्यसैले नेपालगन्जको देशकै सबैभन्दा बढी गर्मी हुने सहरको परिचय छ।

लु चल्न थालेपछि नेपालगन्जमा उखुको जुस, दहीको लस्सीलगायतका चिसो पेय पदार्थको बिक्री बढेको छ। नगरका चोक गल्लीमा ठेलामा तरबुजा बिक्री भइरहेको छ। तरबुजाको खुद्रा मूल्य नगरमा ८० देखि १०० रुपैयाँ छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मंगलबार साँझ जारी गरेको तीन दिने मौसम पूर्वानुमान बुलेटिनमा नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको उल्लेख गर्दै तराईका भू–भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेको हुँदा आवश्यक सर्तकता अपनाउन अनुरोध गरेको छ।

अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार ०८:२४