बाँकेको राप्तीसोनारी गाउँपालिका–४ की आशा परियार केही सयम अघिसम्म पैदलै विद्यालय जान्थिन् । उनलाई घरबाट हिँडेर विद्यालय पुग्न आधा घण्टा लाग्थ्यो । उनी अध्ययन गर्ने विद्यालयको नाम हो, सरस्वती माध्यामिक विद्यालय भवानीयापुर । उनी भन्छिन्, ‘घरबाट हिँडेरै जाँदा कहिले ढिला हुन्थ्यो । समयमै नपुग्दा समस्या हुन्थ्यो । यस्ता थुपै्र समस्या भोगेका छन् ।’
सानो छँदा विद्यालयसम्म पुग्न मुस्किल हुने गरेको उनले सुनाइन् । कक्षा ११ मा अध्ययनरत आशा आफू मात्र नभएर अन्य विद्यार्थीलाई समेत समस्या हुने गरेको बताउँछिन् । केही समयता भने आशाजस्तै धेरै छात्रालाई विद्यालय जान सहज भएको छ । साथमा साइकल भएपछि उनीहरुलाई उज्ज्वल भविष्य निर्माणका लागि पैदल हिँड्नुपर्दैन । राप्तीसोनारी गाउँपालिकाले छात्रालाई उच्च शिक्षामा आकर्षण बढाउन साइकल वितरण गरेको छ ।
गाउँपालिकाले निःशुल्क वितरण गरेको साइकलका कारण विद्यालय जान सहन भएको उनले बताइन् । गाउँपालिकाले साइकल दिएपछि विद्यालय आउजाउ गर्न अहिले आफूलाई निकै सहज भएको उहाँको भनाइ छ । आशा मात्रै होइन साथीहरु, लिला विक, सरिता पाठक, कल्पना बुढा पनि गाउँपालिकबाट निःशुल्क साइकल पाएपछि खुसी व्यक्त गर्दै साइकलले समयमा विद्यालय पुग्न सहयोग भएको बताउँछन् ।
‘गाउँपालिकाले साइकल दिएपछि अहिले हाम्रो समयको बचतसँगै सुविधासमेत भएको छ,’ उनीहरुले भने । छात्रालाई उच्च शिक्षामा आर्कषण बढाउन राप्तीसोनारी गाउँपालिकाले निःशुल्करुपमा साइकल वितरण गरेको छ । गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले शिक्षामा अझै राम्रो सहज होस् भन्नका लागि गाउँपालिकाले साइकल वितरण गरेको बताए ।
गाउँपालिकाका अध्यक्ष थारु भन्छन्, ‘शिक्षालाई गाउँपालिकाले प्राथमिकता दिँदै गर्दा साइकलको पनि हामीले महसुस गर्यौं, विद्यालयका कक्षामा सुरुमा छात्राको संख्या धेरै हुन्छ, जब कक्षा बढ्दै जान्छ, तब छात्राको संख्या घट्दै जान्छ ।’ गाउँपालिकाका अध्यक्ष थारुका अनुसार चालू आर्थिक बर्षमा गाउँपालिकाले साइकल वितरण कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको हो ।
राप्तीसोनारी क्षेत्र ग्रामीण भेग बढी भएको क्षेत्र हो । शिक्षा आर्जनको लागि घण्टौँ हिड्नुपर्ने बाध्यता छ । सडक नपुगेका ठाउँमा निकै सकसका साथ विद्यार्थीहरुलाई विद्यालय जानुपर्ने बाध्यता रहेको छ । यसले विद्यालयमा छात्राहरुको दर निकै कम रहेको देखाएको छ । यस्तै घरायसी बोझका कारण विद्यालय छोड्ने समस्यासमेत यहाँ रहेको छ । उमेर नपुगी विवाह हुने गरेका कारण समेत छात्राहरु उच्च शिक्षा लिनबाट बञ्चित भइरहेका छन् ।
राप्तीसोनारीमा अन्य पालिकाभन्दा बढी बालविवाह हुने गरेको विभिन्न तथ्यले पुष्टि गरेको छ । गाउँपालिकाले सुरुमा चालु आर्थिक बर्षमा ७५० जनालाई साइकल वितरण गर्ने भनेर संख्या संकलन गरेको थियो । यो कार्यक्रम सुरु नहुँदै साइकल पाइने भनेपछि छात्राहरुको संख्या बढ्न थाल्यो । पछि आएका समेत गरी अहिलेसम्म १२०० पुगिसकेका छन् । अझै छात्राहरुको संख्या बढिरहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटबाट छात्रालाई साइकल वितरण कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीका अनुसार पहिलो चरणमा ७५० वटा साइकल वितरण गर्न करिव ६० लाख बजेट छुट्टयाइएको छ । ‘पहिलो चरणमा ७५० वटा साइकल वितरण गर्ने लक्ष्य छ, दोस्रो चरणसम्म १२०० जति साइकल वितरण गरिनेछ,’ शाहीले भने ।
छात्रालाई विद्यालय शिक्षामा टिकाइ राख्न साइकल वितरण कार्यक्रम प्रभावकारी हुने सम्वद्ध सरोकारवालाले बताएका छन् । ‘विद्यालय उमेरबाट नै छात्राले स्कुल छाड्ने गरेकाले गाउँपालिकाले ल्याएको यस्ता कार्यक्रम एकदमै उत्कृष्ट छन्,’ नेरामावि अगैयाका शिक्षक विकास शर्माले भने, ‘भौगोलिक हिसाबले धेरै टाढाबाट आउने छात्रालाई यसबाट धेरै राहत हुन्छ, भने साइकल पाउने आशाले पनि पढाईमा छात्राको आर्कषण बढ्छ ।’
उक्त विद्यालयका ३२ जना छात्राले गाउँपालिकाबाट साइकल प्राप्त गरेका गरेका छन् । लक्ष्मी मावि मदुईका प्रधानाध्यापक लक्ष्मण आर्चायले गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने छात्राहरुलाई निःशुल्क साइकल वितरण गरेर शिक्षा क्षेत्रमा उदाहरणीय काम गरेको बताए । भूगोलका हिसाबले ठुलो क्षेत्रफल भएको गाउँपालिकामा उच्च शिक्षा अध्ययन गर्ने छात्राहरुको समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले निःशुल्क साइकल वितरण गरको छ ।
गाउँपालिकाको ९ वटै वडामा रहेका उच्च शिक्षा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरिएको छ । राप्तीसोनारी गाउँपालिकामा ५४ वटा सामुदायिक विद्यालय छन् भने संस्थागत विद्यालयको संख्या १८ वटा रहेको छ । वडा नं.१ मा जम्मा १० विद्यालय छन् । त्यहाँ सात प्रावि, १ निमावि र २ वटा मावि छन् । वडा नं.२ मा रहेका कुल ८ विद्यालयमध्ये ५ निमावि र ३ मावि, वडा नंं.३ मा रहेका कुल ४ वटा विद्यालयमध्ये १ प्रावि, २ निमावि र १ मावि विद्यालय रहेको गाउँपालिका स्तरीय शिक्षा शाखाले जनाएको छ ।
शिक्षा शाखा प्रमुख जीवन न्यौपानेका अनुसार वडा नं.४ मा ६ वटा विद्यालय छन् । त्यहाँ २ प्रावि, १ निमावि र ३ मावि, वडा नं.५ मा ६ वटा विद्यालयमध्ये, ३ प्रावि, १ निमावि र २ वटा मावि विद्यालय छन् । यस्तै वडा नं.६ मा जम्मा ५ वटा विद्यालय रहेका छन् । तीमध्ये २ प्रावि, १ निमावि र २ मावि छन् भने वडा नं. ७ मा कुल विद्यालयको संख्या ८ रहेका छन् । तीमध्ये ३ प्रावि, ३ निमावि र २ मावि छन् । वडा नं. ८ मा १ निमावि र २ माविसहित ३ वटा र वडा नं.९ मा जम्मा ४ वटा विद्यालय छन् ।
तीमध्ये १ प्रावि, १ निमावि र २ वटा मावि छन् । राप्तीसोनारी गाउँपालिकामा कुल ५४ विद्यालयमध्ये १९ प्रावि, १६ निमावि र १९ मावि छन् । यस्तै सशर्त बजेट अनुदान र गाउँपालिका अनुदान तलब भत्ता खाने बालविकास, कर्मचारी, र शिक्षक विवरण अनुसार विभिन्न शीर्षकमा काम गर्ने बालविकास केन्द्रमा ७४, कर्मचारी ७१, प्राविमा ३४, निमाविमा ६७ र मावि ३१ जना रहेका छन् ।
सत्यपाटी । बाँके ।