शान्ति स्थापनार्थ कङ्गोमा खटिएका एक जना नेपाली सैनिकको विद्रोहीको आक्रमणबाट ज्यान गएको छ । कङ्गोमा विद्रोहीको आक्रमणमा परी घाइते भएका सुर्खेतस्थित गुर्भाकोट नगरपालिका–१४ का सिपाही अनिल गुरुङ्गको मृत्यु भएको नेपाली सेनाले पुष्टि गरेको छ ।
अपरेशन ‘बाली’का क्रममा प्रमुख सेनानी निकिल कुँवरको नेतृत्वमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको फायरबाट घाइते गुरुङ्गलाई हेलिकप्टरमार्फत थप उपचारको लागि बुनियाँस्थित लेबल–२ अस्पतालमा लगिएको थियो ।
श्री नेपाल क्यूआरएफ कम्पनी (शान्ति सेना) पहिलो डफ्फा, कंगोमा कार्यरत गुरुङ्गले आफ्नो कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेकोमा नेपाली सेनाले मृतकप्रति उच्च सम्मान प्रकट गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले शोक वक्तव्यमा जारी गर्दै समस्त नेपाली सेनाका तर्फबाट मृतक गुरुङ्गको बलिदानीपूर्ण योगदान प्रति उच्च सम्मान प्रकट गर्दै सिंगो नेपाली सेना स्तब्ध भएको बताएका छन् ।
यसैबीच, संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले शोक विज्ञप्ति निकालेर मृतक नेपाली सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले शान्ति सेनामाथि भएको आक्रमणको निन्दा पनि गरेका छन् । महासचिव गुटेरेसले घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन कङ्गोका अधिकारीलाई आग्रह गरेका छन् ।
सत्यपाटी । ।