सूचनाको शक्ति - The Power Of Information

        

कक्षा आठमै हवल्दार !

सैनिक पूर्व तालिम लिएर कक्षा ८ की छात्रा खुश्वु मादेनले हवल्दारको दर्ज्यानी चिन्ह प्राप्त गरेकी छन् । नेपाली सेनाको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयको ४७ औं जुनियर डिभिजन तालिममा ताप्लेजुङको लिटिल बुद्ध माविकी सिक्कुम इवासाम लिम्बु सर्वोत्कृष्ट घोषित भई क्याडेट सिनियर अण्डर अफिसरको दर्जा पाएसँगै खुश्बु र हेना मादेन हवल्दार भएका हुन् ।

उनीहरूलाई मंगलवार आयोजित दीक्षान्त समारोहमा नेपाली सेनाको १ नम्बर बाहिनीपति विष्णुकुमार खड्काले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सैनिक पूर्व तालिमको १०० दिने कोर्षमा छात्रतर्फ जाल्पा मावि खोटाङका विनोद तामाङले कम्पनी जुनियर अण्डर अफिसरको दर्ज्यानी चिन्ह पाए । विद्यावर्धन मावि पाँचथरकी नेहा राईले बेष्ट स्पीकर क्याडेटको उपाधी हासिल गरे ।

४७ औं जुनियर डिभिजनमा ११ जिल्लाका १५ विद्यालयका कुल ५३८ विद्यार्थीले तालिम लिएका छन् । एनसीसीको जुनियर डिभिजनमा कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई तालिम दिइन्छ । कक्षा ११ र १२ तहका विद्यार्थीलाई सिनियर डिभिजनमा सहभागी गराइन्छ । तालिमका लागि कुनै शुल्क लाग्दैन ।

मोरङको याङशिला कालोपानीस्थित राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयमा हुने आवासिय तालिममा सैनिक पोशाक, खेलकुदका पोशाक, बुट लगायतका आवश्यक बन्दोबस्तीका सामान सेनाले दिन्छ । दैनिक खाजा, खाना सैनिक मेसमा चल्छ । हवल्दार खुश्वु भन्छिन्, ‘हतियार चलाउनुबाहेक सबै तालिम सेनाकै जस्तो थियो ।’ स्कुले तालिम पनि सहभागि खुश्वुले शिक्षालयमा विहान ४ बजेदेखि चल्ने तालिमका बारेमा आफ्नो अनुभव सुनाइन् ।

न खर्चको चिन्ता न खानको चिन्ता, स्कुलबाट छनौट भएदेखि लिएको तालिमले नयाँ अनुभव दिएको छ । शिक्षालयका प्रमुख सेनानी विमल केसी भन्छन्, ‘तालिमबाट राष्ट्रियता, सामाजिक उत्तरदायीत्व अनुशासनका सैद्धान्तिक, व्यवहारीक ज्ञान र भविष्यमा आउने चुनौतीहरूलाई सामना गर्ने तथा देशभक्तीपूर्ण नागरिक दायित्वको भूमिकाका लागि विद्यार्थीलाई सक्षम बनाउने उद्देश्य पनि छ ।’

प्रमुख सेनानी केसी भन्छन्, ‘सैनिकमा हुनुपर्ने गुण पूर्व तालिम प्राप्त विद्यार्थीहरूमा हुने भएकाले उनिहरूलाई सेना, प्रहरीको भर्तिमा प्राथमिकता दिइनु स्वभाविक हुन्छ ।’ हरेक क्षेत्रमा कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने नयाँ पुस्ताका लागि विद्यालय तह देखिनै एसीसी तालिम बहुउपयोगी हुने प्रमुख सेनानी केसीको भनाई छ । सिनियर डिमिजन तालिममा सहभागी विद्यार्थीहरूका लागि सुरक्षा क्षेत्रमा राम्रो अवसर बन्न पनि बन्न सक्छ ।

धेरै विद्यालय कलेजहरूले विद्यार्थीको यो अवसरप्रति चासो राखेको भने देखिन्न । प्रमुख सेनानी केसीका अनुसार कुनैपनि शैक्षिक संस्था एनसीसी तालिममा सहभागी हुन सजिलो छ । विद्यालयले जिल्ला शिक्षा कार्यालयमा तालिममा सहभागी हुने आशयको निवेदन दर्ता गराए पुग्छ । हरेक वर्ष खुल्ने तालिम कार्यक्रमका लागि निवेदन परेका विद्यालयहरूमा नजिकको गण, गुल्मको टोलीले विद्यार्थी छनौट गरी स्थलगत तालिम सञ्चालन गर्दछ ।

तिनै विद्यालयहरूबाट आवशिय तालिमका लागि विद्यार्थीहरू शिक्षालयमा आउँछन् । तालिमको कुल १०० दिनको पाठ्यक्रममध्ये ७९ दिन नजिकका सैनिक गण, गुल्मका टोलीले विद्यालयमानै तालिम सञ्चालन गर्दछ । २१ दिन आवाशिय क्लोज क्याम्पको तालिम शिक्षालयमा सञ्चालन गरिदै आएको छ । २०२२ सालदेखिनै राष्ट्रिय सेवा दल तालिमको अवधारणा नेपालमा लागु भए पनि अहिले नयाँ पुस्ताका लागि बहुउपयोगी देखिएको हो ।

पछिल्लो समय नेपाली सेनाको आधुनिकीकरणसँगै नागरिक तहमा सहकार्य गर्न एनसीसीले सहज बनाएको छ । यसअघि आवाशिय तालिम केन्द्रिय तहबाट मात्र सञ्चालन हुन्थ्यो । नेपाली सेनाले राष्ट्रिय सेवादललाई देशव्यापी पहुँचमा पुर्याउन ४ ठाउँमा तालिम शिक्षालय स्थापना गरेपछि अहिले सबै जिल्लाका विद्यालय यस्को पहुँचाम पुगेको प्रमुख सेनानी केसीले बताए ।

मोरङको याङशिला कालोपानी स्थित शिक्षालय २०७४ सालमा स्थापना भएको हो । यहाँ प्रदेश १ र मधेश प्रदेशका १७ जिल्लाका विद्यार्थीहरू आउँछन् । यसैगरी नेपालगन्जको कोहलपुर कौशिलानगर, महोत्तरी र नवलपरासीको हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम शिक्षालय सञ्चालनमा छ ।

 

आइएनएस–स्वतन्त्र समाचार

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार ०९:४९