सूचनाको शक्ति - The Power Of Information

        

श्रीलंकामा लगाइएको संकटकाल पाँच दिनमै खारेज

आर्थिक संकटले चौपट बनेको श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्ने उद्देश्यले लगाइएको राष्ट्रिय संकटकाल पाँच दिनमै खारेज गरिएको छ ।

गत शुक्रबार घोषणा गरी लागू गरिएको संकटकाल मंगलबार रातिदेखि खारेज गरिएको हो ।

संकटकाल घोषणा भएको दुई साताभित्रै संसदबाट पारित गर्नुपर्ने प्रावधान अनुसार संकटकाल अनुमोदन नहुने भएपछि राष्ट्रपति गोताबाय राजापाक्षे निर्णय फिर्ता लिन बाध्य हुनुभएको हो ।

संकटकाल लागू गरेर सरकार विरोधी प्रदर्शन रोक्ने प्रयास गरेका राष्ट्रपति राजापाक्षेलाई सत्ता सहयात्री दलहरुले समेत साथ छाडेका छन् भने उहाँको सरकार अल्पमतमा परेको छ ।

राजापाक्षे सरकारका सबै मन्त्रीले राजीनामा दिएपछि सर्वदलीय सरकार गठनका लागि गरिएको आह्वानलाई विपक्षीहरुले अस्वीकार गरिसकेका छन् । संकटकाल र कर्फ्युका बावजुद सरकार विरोधी प्रदर्शन जारी रहेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार ०९:४५