शान्ति स्थापनार्थ कङ्गोमा खटिएका एक जना नेपाली सैनिकको विद्रोहीको आक्रमणबाट ज्यान गएको छ ।
अपरेशन ‘बाली’ का क्रममा प्रमुख सेनानी निकिल कुँवरको नेतृत्वमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि हिजो विद्रोहीले आक्रमण गरेका थिए । आक्रमणबाट एक जना नेपाली सेनाको ज्यान गएको संयुक्त राष्ट्र सङ्घले पुष्टि गरेको छ ।
ज्यान गुमाएका सैनिकको परिचय भने खुलाइएको छैन । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले शोक विज्ञप्ति निकालेर मृतक नेपाली सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै शान्ति सेनामाथि भएको आक्रमणको निन्दा पनि गर्नुभएको छ ।
महासचिव गुटेरेसले घटनाकाे छानबिन गरी दाेषीलाई कानुनी दायरामा ल्याउन कङ्गाेका अधिकारीलाई आग्रह गर्नुभएकाे छ ।
सत्यपाटी । काठमाडौँ ।