बाँकेको नरैनापुर गाउँपालिका भएको आगलागी पीडितहरुलाई राहत उपलब्ध गराइएको छ । सोमबार अपराह्न भएको आगलागीबाट १६ घरगोठ जलेर नष्ट भएका परिवारलाई राहत उपलब्ध गराइएको नरैनापुर गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको वडा नं.४ स्थित कृष्णनगर गाउँका १६ परिवारलाई प्रतिपरिवार २५ केजी चामल, ५ केजी आलु, २ केजी दाल, २ केजी प्याज, २ केजी नुन, १ थान त्रिपाल, २ थान डेक्ची, २ थान झुल, १ थान बाल्टी, १ पेटी चाउचाउ, १ थान जग, २ केजी चिउरा, १ प्याकेट दालमोट, १–१ थान डाडु पन्यु र ३ थान थाल उपलब्ध गराइएको छ ।
सोमबार अपराह्न भएको आगलागीबाट १६ वटा घरगोठ र चार वटा बाख्रा जलेको र आगलागीबाट करिब रु १८ लाखको क्षति भएको आङ्कलन गरिएको छ । नरैनापुर गाउँपालिकाको दमकल, सुरक्षाकर्मी, रेडक्रसकर्मी र स्थानीय नागरिकको सहयोगमा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट मानवीय क्षति नभए पनि घरगोठ जलेका कारण स्थानीयवासीलाई घरबासको समस्या भएको नरैनापुर गाउँपालिकाका निमित्त प्रमूख प्रशासकीय अधिकृत भरत बस्नेतले बताए । गर्मीयाम सुरु भएसँगै नरैनापुर गाउँपालिकाका साथै बाँके जिल्लाका ग्रामीण बस्तीहरुमा हरेक वर्ष आगलागी हुने गरेको छ ।




सत्यपाटी । बाँके ।