सूचनाको शक्ति - The Power Of Information

        

रुस–युक्रेन युद्ध

रुसी फौज मरेका भ्यागुता भएका पोखरीको पानी पिउन बाध्य !

‘भोलि खाने’ भन्दै खाना लुकाउँछन् युद्ध भोगेका युक्रेनी बालक

युक्रेनविरुद्ध लड्नका लागि डोन्बस क्षेत्रबाट रुसी फौजमा भर्ती गरिएकाहरूलाई उन्नाइसौँ शताब्दीको उत्तरार्धमा डिजाइन गरिएका निकै पुराना राइफल भिडाइएको छ । साथै उनीहरूलाई मरेका भ्यागुता भरिएका पोखरीको पानी खान बाध्य पारिएको छ ।

एउटा स्वचालित हतियार दिइएका एकजना विद्यार्थीले रोयटर्सलाई भनेका छन्, ‘मलाई यो हतियार कसरी चलाउने भन्ने सिकाइएको नै छैन । मलाई युक्रेनी फौजलाई धपाउने आदेश दिइएको छ । मलाई एउटा मोर्टार युनिटमा राखिएको छ । तर कुनै पनि आवश्यक प्रशिक्षण दिइएको छैन । अहिलेसम्म मैले मोर्टार भनेको फिल्ममा मात्र देखेको छु । साँच्चै मलाई मोर्टार कसरी चलाउने भन्नेबारे केही पनि थाहा छैन ।’

बिना तालिमका एक अर्का सैनिकका पत्नीले रोयटर्सलाई भनेकी छन्, ‘मेरो पतिलाई स्वचालित बन्दुक चलाउन त के राम्ररी समाउन पनि आउँदैन ।’ युक्रेनी अधिकारीहरूले सेयर गरेका दर्जनौँ पश्चिमी ब्रिफिङ र सूचनामा रुसी फौजमा नैतिकताको स्थिति र अन्य आपूर्ति क्षेत्र निकै नाजुक रहेको उल्लेख गरिएपछि रोयटर्सको खबर सार्वजनिक भएको हो ।

गत साता एकजना रुसी सैनिकले एउटा अडियो टेपमा रुसी पक्षको ठूलो क्षतिप्रति दुख व्यक्त गर्दै भनेका थिए, ‘सेनामा मूर्ख तथा काम नलाग्नेहरूको बिगबिगी छ । हाम्रो ब्रिगेडमा धेरै व्यक्ति घाइते भएका छन् । हामी किन यहाँ छौँ भन्ने पनि स्पष्ट छैन ।’

अहिले रुसले शुरुमा कब्जा गरेका दर्जनौँ स्थानमा राष्ट्रपति भ्लादिमिर पुटिनको नाममा भएका भयावह हमलाको वास्तविकता उजागर गर्दै युक्रेन अघि बढी सकेको छ । रोयटर्सले यो रिपोर्ट तयार पार्न सम्बन्धित छ जना व्यक्तिसँग कुराकानी गरेको जनाएको छ ।

‘भोलि खाने’ भन्दै खाना लुकाउँछन् युद्ध भोगेका युक्रेनी बालक

रुसी फौजको नियनत्रणमा रहेको युक्रेनी सहर मारिउपोलमा दसौँ हजार सर्वसाधारण विना बिजुली, पानी र ग्यास कष्टकर जिवन सहन बाध्य छन् । मानवीय राहत सामग्री वितरण र स्थानीय वासिन्दालाई त्यहाँबाट बाहिर लग्ने थुप्रै प्रयासहरू असफल भइसकेका छन् । अहिलेसम्म जति पनि त्यहाँबाट बाहिरिए, उनीहरूले निकै ठूलो दुख खप्नुपर्यो ।

त्यसमा पनि विशेष पीडितमा बालबालिका छन् । उनीहरूले सबैभन्दा पहिले किन्ने भनेको रोटी, ससेज र पानी हो । तीन सातासम्म मारिउपोल सहरस्थित आफ्नो अपार्टमेन्टमा लगातार रुसी फौजको आक्रमणका क्रममा झ्यालहरूसमेत ध्वस्त भएपछि नादिया देनिसेन्काले आफ्ना बालबालिकासँगै सहर छाडेकी थिइन् । धेरै दिनसम्म उनीहरूसँग निकै थोरै खाना मात्र थियो । पिउने पानी त नहुनु बराबरै थियो ।

विगत सम्झँदै नादिया भन्छिन्, ‘कतै पानीको बोतल भेटिँदा हामी निकै खुसी हुन्थ्यौँ । त्यो पानी पनि केहि सेकेन्डमै सकिन्थ्यो । म १४ र ५ वर्षका दुई छोरा र १२ वर्षीया छोरी लिएर सुरक्षित तरिकाले आफन्त कहाँ पुगेँ । युद्ध सुरु हुँदा मेरो कान्छो छोराले केही रोटी खान मन लागेको बताएका थिए ।’

उनीहरूको पलायन यात्रा निकै कष्टकर थियो । सहर छाड्ने मौकाको प्रतीक्षामा बस्दा मारिउपोलमा उनीहरूले करिडोरमा बाक्लो पर्खाल पछाडि रातहरू काटे । उनीहरू भूमिमुनिको तलामा सुत्थे । बिहान करिब ५ बजे भयानक विस्फोटको आवाज सुनेर उनीहरूको निद्रा खुल्थ्यो । ती विस्फोटका आवाज कहिले नजिक त कहिले टाढाबाट आउँथे ।

एउटा सुपरमार्केटमा काम गर्ने गरेकी ३९ वर्षीया नादिया भन्छिन्, ‘जिन्दगी पूर्णतः नारकीय थियो । हामी सबै अनिश्चित जिन्दगी बाँचिरहेको थियौँ । भोलि बिहान जिउँदै आँखा खोलिन्छ कि खोलिन्न भन्ने थाहा थिएन । उनीहरूले निर्ममतापूर्वक लगातार आक्रमण गरिरहेका थिए । मेरो सानो छोरो किन त्यस्तो ठूलो विस्फोटनका आवाज आइरहेको भनेर सोध्ने गर्थ्यो । म उसलाई चिन्ता नगर्न र त्यो पटाखा पड्केको भन्दै सम्झाउने गर्थें । उनले फेरि हामीलाई उनीहरूले किन मार्न खोजिरहेको भनेर सोध्थे ।’

युक्रेनमाथि आक्रमण गर्ने क्रममा रुसी फौजले मारिउपोललाई सबैभन्दा बढी आक्रमण गरेको छ । त्यहाँ जल, स्थल र आकासबाट आक्रमण गरिएको छ । थुप्रै लाशको सामूहिक अन्त्येष्टि गरिएको छ । नादियाले भनिन्, ‘घर बाहिर अलि बढी न्यानो हुने हुनाले हामी प्रायः बाहिरै बस्थ्यौँ । अन्तिम दुई दिन खाने नाममा गेडागुडी र दालसमेत थिएन । पैसाको मतलबै थिएन । सहरमा खाद्यान्न नै रित्तिसकेको थियो । भाग्ने प्रयासको क्रममा एकपटक केही कारहरू भएको ठाउँमा गयौँ । तर अचानक त्यहाँ गोलाबारुद बर्सियो । भाग्यले नजिकको एउटा क्षतिग्रस्त भवनमा लुकेर ज्यान बचायौँ ।’

अन्ततः १७ मार्चमा उनीहरू मारिउपोल छाड्न सफल भए । पहिला उनीहरू निजी सवारी साधनका लस्करमा बसेर मान्गुस गाउँ पुगे । त्यसपछि उनीहरू रुसी नियन्त्रणमा रहेको बड्यान्स्क पुगे । त्यहाँबाट उनीहरू जापोरिझझिया पुगे । नादिया भन्छिन्, ‘बाटोमा थुप्रै स्थानमा रुसी फौज वा उनीहरू समर्थित लडाकुहरूले हामीलाई खानतलासी लिने र सोधपुछ गरे । पुरुषहरूलाई बढी केरकार गरिन्थ्यो । धेरै दिनदेखि हामीले नुहाएका पनि थिएनौँ । जापोरिझरिझयाबाट पश्चिमी युक्रेनी सहर लभिभ पुग्न पाँच दिन लाग्यो । सो क्षेत्र रुसी आक्रमणबाट धेरै बचेको थियो । बल्ल हामीले सुरक्षा महशुस गर्यौँ । तर मेरो सानो छोराले अझै पनि हामी बसेका फ्ल्याटका विभिन्न स्थानमा चकलेट, रोटी जस्ता खानेकरा लुकाउने गरेका छन् । किन यसो गरेको भनेर सोध्दा उनले भोलिलाई खान केही बाँकी रहोस् भनेर जवाफ दिन्छन् ।’

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलवार ०८:११