सूचनाको शक्ति - The Power Of Information

        

कुकुरले च्यापेर डुलाएको शवको पहिचान खुल्यो

कर्णाली प्रदेश अस्पताल सुर्खेत परिसरमा शनिबार कुकुरले मुखमा च्यापेर डुलाएको नवजात शिशुको शवको पहिचान खुलेको छ । प्रहरी अनुसन्धानपछि शवको पहिचान खुलेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त शव दैलेखको आठबिस नगरपालिका–९ का पवित्रा विक बच्चाको रहेको जनाएको छ ।

पवित्रा र उनका श्रीमान् गोपालले प्रहरीसमक्ष आफूहरुले बच्चाको शव अस्पताल क्षेत्रभित्रको जंगलमा गाडेको र त्यहाँबाटै कुकुरले ल्याएको हुनसक्ने बताएका थिए । कार्यालयका इन्स्पेक्टर कनकबहादुर शाहीका अनुसार यही चैत १४ गते प्रदेश अस्पतालमा पवित्राबाट मृत बच्चा जन्मिएको थियो ।

आफैँले दाह संस्कार गर्छु भनेपछि अस्पतालले शव हस्तान्तरण गरेको थियो । प्रहरीले शवको सनाखत गराई पुनः सुरक्षित रूपमा दाहसंस्कार गर्न पवित्रा दम्पतीको जिम्मा लगाएको छ । यसअघि कुकुरले अस्पताल परिसरमा टाउको नभएको एक नवजात शिशुको शव च्यापेर डुलिरहेको तस्बिर भाइरल भएपछि अस्पतालको ध्यानाकर्षण भएको थियो ।

अस्पताल प्रशासनले शव व्यवस्थापनमा आफ्नो लापरबाही नभएको भन्दै घटनाको अनुसन्धान गर्न शनिबार नै जिल्ला प्रहरीलाई लिखित पत्राचार गरेको थियो । शव व्यवस्थापनमा गम्भीर लापरबाही भएको भन्दै सामाजिक सञ्जालमा अस्पतालको चर्को आलोचना भएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलवार ०७:४१