सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन–२०७९

आचारसंहिता पूर्ण पालना गराउन आज ७९ दलसँग आयोगको छलफल

निर्वाचन आयोगले आज स्थानीय तहको निर्वाचनमा भाग लिने दलहरूसँग छलफल गर्ने भएको छ ।

निर्वाचनमा भाग लिने सबै राजनीतिक दलका अध्यक्ष वा नेतालाई छलफलमा बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार बिहान साढे ११ बजे उनीहरूलाई छलफलका लागि बोलाइएको छ । राजनीतिक दलसँग निर्वाचन आचारसंहिताको पूर्ण पालनाबारे छलफल हुने उनले बताए ।

आयोगले निर्वाचनमा भाग लिने ७९ दलसँग निर्वाचनका सम्बन्धमा हालसम्म भएका तयारीबारे जानकारी दिँदै निर्वाचन आचारसंहिताको पालनाका लागि प्रतिबद्धता लिन लागेको हो ।

विसं २०७४ को निर्वाचनमा पनि आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो ।

आयोगले मुलुकका विभिन्न स्थानमा केही दिनअघि गरेको आचारसंहिता पालना र प्रभावकारी कार्यान्वयन विषयक कार्यक्रममा आचारसंहिताको पालनाका सम्बन्धमा कठोर हुन सुझाव दिइएको थियो ।

सुझावका आधारमा प्रतिबद्धतापत्र तयार गरी सवै राजनीतिक दलका शीर्ष नेताहरूबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलवार ०७:२२