सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निर्वाचन–२०७९

२३ लहरका ७७ प्रकारका मतपत्र, काठमाडौंमा धेरै, डोल्पामा कम

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले २३ लहर समूहका ७७ प्रकारका मतपत्र छपाइ गर्ने भएको छ । सोमबार नियमित पत्रकार सम्मेलनामा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख मतपत्र छपाइ हुने जानकारी दिए ।

उनका अनुसार सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुने छ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ । ‘कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाइ हुनेछन् । सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको काठमाडौंका हुनेछन्,’ प्रवक्ता पौडेलले भने ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका जनक शिक्षा सामग्री केन्द्रमा आजदेखि मतपत्र छपाइ कार्य सुरु हुने उनले बताए । उनका अनुसार पहिला दुर्गम जिल्लाका लागि मतपत्र छपाइ हुनेछ । त्यसपछि सुगम जिल्लाका मतपत्र छाप्ने कार्य हुनेछ । त्यस्तै कुल मतपत्रमध्ये ८ देखि २५ प्रतिशतसम्म जगेडा मतपत्र छापिने उनले बताए । प्रवक्ता पौडेलका अनुसार एक लाख ८० हजार थान नमुना मतपत्र छापिएको छ ।

‘मनाङ, हुम्ला, जुम्लाजस्ता दुर्गम ठाउँका लागि सुगम ठाउँको भन्दा बढी मतपत्र जगेडा राखेर छपाइ गरिन्छ भने सुगम ठाउँका लागि कम जगेडा राखेर छापिन्छ,’ प्रवक्ता पौडेलले भने । त्यस्तै, आयोगले निर्वाचन तथा मतदाता निर्देशिका, निर्वाचन तालिम व्यवस्थापन सञ्चालन निर्देशिका र मतदान निर्देशिका २०७८ तथा मतगणना निर्देशिका २०७८ आयोगबाट स्वीकृत भइ कार्यान्वयनमा आएको जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलवार ०६:५०