त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको उपाधि नेपालले जितेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा पपुवा न्यूगिनी (पिएनजी) लाई ५० रनले पराजित गर्दै उपाधि जितेको हो ।
नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको पिएनजी १६ दशमलब १ ओभरमा ११८ रनमै समेटियो । पिएनजीका लागि सेसे बाउले सर्वाधिक ५९ रनको योगदान गरे । ३८ बलमा उनले ६ छक्का र एक चौका प्रहार गरे ।
चार्ल्स अमिनीले १५ रन बनाए भने अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । पिएनजीलाई सस्तैमा समेट्न दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए । करण केसीले ३ र कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । नेपालका लागि बिस्फोट ब्याटिङ गरेका दीपेन्द्रसिंह ऐरीले आउट नभइ ५४ रन बनाए ।
३८ बल खेलेका उनले ५ चौका प्रहार गरे । उनले टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गरेका छन् । उनी नेपालबाट टी–२०अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै रन बनाउने खेलाडी भएका छन् । १२ बल खेलेका करण केसी एक छक्का र ५ चौका प्रहार गर्दै ३३ रनमा अविजित रहे ।
आसिफ शेखले २९ र कुशल भुर्तेलले २५ रन बनाउँदा रोहित पौडेल २ रन बनाउँदै आउट भए । आरिफ शेख र दिलिप नाथ शून्य रनमा पेभिलियन फर्किए । मलेसिया र पिएनजी सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलामा नेपाल अपराजित रह्यो । उसले फाइनलसम्मका सबै पाँच खेल जितेको हो ।
सत्यपाटी । काठमाडौं ।