सूचनाको शक्ति - The Power Of Information

        

‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि बझाङका दुई विद्यालय छानिए

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि बझाङका दुई विद्यालय छनौटमा परेका छन ।

जयपृथ्वी नगरपालिका–९ रिठापाठा देवलमा रहेको जालपा माध्यमिक विद्यालय र केदारस्युँ गाउँपालिका – ९ झोता बजारमा रहेको भैरव माध्यमिक विद्यालय कार्यक्रमका लागि छनोटमा परेका छन् ।

छनौटमा परेका विद्यालयलाई कार्यक्रम अन्र्तगत अनुदान रकम उपलव्ध गराई विद्यार्थीलाई पढ्दै गरेका बेला कमाउने अवसर प्रदान गरिने छ ।

यी दुबै विद्यालयमा प्राविधिक तर्फको कृषि र पशुपालनको पढाई हुने गरेको छ । पढ्दै कमाउँदै कार्यक्रमका लागि विद्यालय छनौटमा परेको जानकारी दिदै जालपा माध्यमिक विद्यालयका प्रधानाध्यापक उतम मल्ले कार्यक्रमका प्रावधान अनुसार व्यवहारिक रुपमा कार्यक्रमलाई कार्यान्वयन गरिने बताउनुभयो ।

मल्लले भन्नुभयो, ‘विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्नमा कार्यक्रमले सघाउने उद्देश्य लिएका छौं । यस कार्यक्रमको माध्यमबाट विद्यार्थीलाई पढन र सिक्नका लागि थप हौसला थपिने अपेक्षा गरेका छौं ।’

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यक्रमका लागि सामुदायिक विद्यालयबाट प्रस्ताव माग गरेको थियो ।

केन्द्रको निर्देशक समितिको बैठकले कार्यक्रमका लागि विद्यालय छनौट गरेको हो । कार्यक्रममा प्राविधिक शिक्षा पढाइने विद्यालयलाई प्राथमिकतामा राखिएको छ ।

छनौटमा परेका विद्यालयलाई सशर्त अनुदान अन्र्तगत वित्तिय हस्तान्तरण भै स्थानीय तह मार्फत अनुदान रकम विद्यालयको खातामा उपलव्ध गराउने व्यवस्था गरिएको छ ।

‘पढ्दै कमाउँदै विद्यालय कार्यक्रम सञ्चालन कार्यविधि २०७८’ मा उल्लेखित कार्य प्रकृया बमोजिम विद्यालयका लागि बजेट स्वीकृत गरिएको छ ।

विद्यालयलाई बजेट दुई किस्तामा उपलब्ध गराउने व्यवस्था गरिएको छ । पहिलो चरणमा ५० प्रतिशत र दोश्रो चरणमा कार्य प्रगतिका आधारमा ५० प्रतिशत रकम उपलव्ध गराइने छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार ०९:१५