सूचनाको शक्ति - The Power Of Information

        

त्रिकोणात्मक टी-२० श्रृंखला : उपाधिका लागि नेपालले पीएनजीसँग खेल्दै

त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधिका लागि नेपालले आज पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दैछ । खेल कीर्तिपुरस्थित टीयू मैदानमा दिउँसो १२:३० बजे सुरु हुनेछ ।

नेपाल, पीएनजी र मलेसिया सम्मिलित श्रृंखलामा नेपाल अपराजित रहँदै फाइनल पुग्दा पीएनजी दोस्रो भएर फाइनल पुगेको हो ।

नेपालले डबल राउण्ड रोविन लिगमा खेलेको चारवटै खेल जितेर उच्च लयमा छ । पीएनजीले भने ३ खेल हार्दा मलेसियालाई एक खेलमा मात्र हराएर २ अंक जोडेको थियो ।

मलेसियाले पनि १ खेल जित्दै उति नै अंक बनाएको थियो । तर नेट रनरेटमा भाग्यमानी बनेको पीएनजीले मलेसियालाई पछि पार्दै नेपालसँग फाइनल भिडन्त पक्का गरेको हो ।

कीर्तिपुरमै अघिल्लो साता भएको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको दुवै खेलमा नेपाल पीएनजीसँग पराजित हुँदै श्रृंखला गुमाएको थियो ।

त्यसपछि टी-२० मा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालल एकदिवसीमा व्यहोरेको हारको बदला लिँदै श्रृंखलाको उपाधि जित्ने लक्ष्यमा छ । हुन त नेपालले टी-२० को दुवै लिग खेलमा पीएनजीलाई हराएर बदला लिइसकेको छ । तर फाइनल खेलमा पनि लिगको लय कायम राख्दै अपराजित रहेर उपाधि जित्ने नेपालको चाहना छ ।

फाइनलअघि आइतबार श्रृंखलाको विजेताले पाउने ट्रफी सार्वजनिक कार्यक्रममा नेपानलका कप्तान सन्दीप लामिछानेले यसअघि खेले जस्तै खेल्ने र दबावविना खेल्ने बताएका छन् ।

सन्दीपले कप्तानको रुपमा पहिलो पटक श्रृंखलाको फाइनल पुग्दा खुशी व्यक्त गरे । यस्तै उनले शनिवार मलेसियालाई अन्तिम लिग खेलमा हराएपछि पीएनजी विरुद्धको फाइनल महत्वपूर्ण रहेको भन्दै यसले आगामी खेललाई सहयोग गर्ने बताएका थिए । उनले भने, ‘फाइनल महत्वपूर्ण हुनेछ ।

यसपछि हाम्रो सम्भवत युएस टुर हुनेछ । त्यसको लागि पनि बुस्ट हुनेछ । फाइनललाई राम्रो तयारी भाछ । पीएनजी बलियो टिम हो, राम्रो खेलिराछ तर लिगमा चुकिराछ । हामीले चार गेम जितेर आइराछौँ । त्यसरी नै जान्छौँ र हामी डोमिनेट गर्ने प्रयास गर्छौँ ।’

उता पीएनजीका कप्तान असद भालाले भने नेपाल विरुद्धको खेल ठूलो रहेको भन्दै दबाब रहेको बताएका थिए ।जारी श्रृंखलामा नेपालले पहिलो खेलमै पीएनजीलाई १५ रनले हराएर सुदख सुरुवात गरेको थियो ।

त्यसपछि दोस्रो खेलमा नेपाल ३७ रनले विजयी भयो । नेपालले मलेसियालाई पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ८५ रनले पराजित गरेको थियो ।

पीएनजीले मलेसिया विरुद्धको पहिलो खेल ८ रनले गुमाउँदा दोस्रो खेलमा ८ विकेटको जित निकालेको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार ०८:५२