सूचनाको शक्ति - The Power Of Information

        

सुरु भयो इस्लाम धर्मावलम्बीको रमजान पर्व

फाइल तस्वीर

इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान हिजोदेखि सुरु भएको छ । यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् ।

उर्दू क्यालेन्डरअनुसार बिहान ४ः१५ बजेबाट बेलुका ६ः२० बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ ।

रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । रमजान उर्दू क्यालेन्डर अनुसार हिजरी सम्बत् १४४३ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

देशभरका मुस्लिम समुदायले भक्तिको महिनाका रूपमा मनाउने भएकाले यसबाट पाप नाश हुने धार्मिक विश्वास छ । वर्षमा कुनै त्रुटि भएको भए यसै अवसरमा अल्लाहसँग क्षमायाचना गर्ने मुस्लिम समुदायको परम्परा छ । आइतबार घण्टाघर छेउमा रहेको मस्जिदमा मुस्लिम धर्मावलम्बीहरू नमाज गरिरहेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार ०८:२९