सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

‘स्मृति’का तीन गजल, ‘धारजस्तै धारिलो बनायौं…’

गजल – एक

किन नजिक सर्नु र हुँदैहुन्न भनेपछि ।
तिम्रा मिठा बातले त छुदैछुन्न भनेपछि ।।

बिताएका ती पल याद आएछ भने पनि ।
तिमीलाई सम्झी अब रुदैरुन्न भनेपछि ।।

सङ्गालेर राखेको आँसु गालैमा झारे पनि ।
तिम्रो नाममा परेली यो धुदैधुन्न भने पछि ।।

किन नजिक सर्नु र हुँदैहुन्न भनेपछि ।
तिम्रा मिठा बातले त छुदैछुन्न भनेपछि ।।

गजल – दुई

छाडेर जान्छौं जाउ छोड्न सक्छौं भने ।
गरेका बाचा बन्धन तोड्न सक्छौं भने ।।

सम्झना आउँछ आउन्न त्यो गल्लीको ।
मोडेर जान्छौं जाउ मोड्न सक्छौं भने ।।

चर्किएको सिसासरी भएछ मन किन ?
जोडेर हेर त्यो टुत्रा जोड्न सक्छौं भने ।।

शिला टुट्ला बरु कठोर दिल टुट्ने छैन ।
कोरेर शब्दले फोड फोड्न सक्छौं भने ।।

सयौंथरी फुल फुल्ने हृदयको बगैचामा ।
हालेर मलजल गोड गोड्न सक्छौं भने ।।

गजल – तीन

धारजस्तै धारिलो बनायौं रेटिन न आउ ।
छोडेर गयौं ति मोडहरुमा भेटिन न आउ ।।

यादहरुको बर्षामा भिजिरहेको यात्री म ।
चिसिएको मेरो मनसँग लपेटिन नआउ ।।

कट्पुतली झैं नाच नचायौं नि रङ्गमंचमा ।
सङ्गीतको माधुर्यसँगै समेटिन नआउ ।।

एकनासको रफ्तारले चलेछ यो जीवन ।
धपाउँदैछ जिन्दगीले लखेटिन नआउ ।।

अविरल बग्छन् हेर, अन्तरभावका तरंगहरु ।
समाहित भई म मा फेरि मेटिन नआउ ।।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार ०८:०६