नेपाल लोडसेडिङमुक्त घोषणा भएको चार वर्ष पूरा हुनै लाग्दा फेरि अघोषित लोडसेडिङ सुरु भएको छ ।
अनियमित विद्युत आपूर्तिका कारण औद्योगिक क्षेत्रमा संकट उत्पन्न भएको भन्दै निजी क्षेत्र सम्बद्ध व्यवसायीले विरोध गरेका छन् ।
कोरोना महामारीले दुई वर्षदेखि थलिएको औद्योगिक क्षेत्र लयमा फर्कनै लागेको बेला अकस्मात् विद्युत कटौतीका कारण यस क्षेत्रको अवस्था झन् संकटतर्फ गएको उनीहरुको भनाइ छ ।
व्यवसायीहरुका अनुसार बुटवल–भैरहवा, बारा–पर्सा, सुनसरी–मोरङ लगायतका औद्योगिक करिडोरमा अनियमित विद्युत आपूर्ति तथा ट्रिपिङ, लो भोल्टेज लगायत समस्या बढेका छन् ।
अनियमित विद्युत आपूर्तिका कारण उद्योगहरू सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै व्यवसायीहरुले लोडसेडिङ तालिका उपलब्ध गराउन प्राधिकरणसँग माग गरेका छन् ।
यी क्षेत्रमा बढी विद्युत खपत गर्ने सिमेन्ट, स्टील लगायतका उद्योगहरु रहेको र ती उद्योगमा डिजेल जेनेरेटरबाट उद्योग सञ्चालन असम्भव रहेको व्यवसायीहरु बताउँछन् ।
प्राधिकरणले भारतबाट खरिद गर्ने बिजुलीको दर महँगो भएकाले कम परिमाणमा खरिद गर्ने गरेको र सोही कारण औद्योगिक क्षेत्रमा नियमित बिजुली दिन नसकिएको जनाउँदै आएको छ ।
एक साताअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रमा लोडसेडिङ नगर्ने प्रतिबद्धता जनाए पनि त्यो पूरा नभएको भन्दै व्यवसायी आक्रोशित छन् ।
उनीहरुले सम्वन्धित मन्त्रालय र प्राधिकरणलाई ध्यानाकर्षण पनि गराइसकेका छन् । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
सत्यपाटी । काठमाडौँ ।