सूचनाको शक्ति - The Power Of Information

        

सुन आयातमा साढे ३२ अर्ब बाहिरियो

चालू आर्थिक वर्षको आठ महिनामा अघिल्लो आवको सोही अवधिको भन्दा दोब्बर सुन आयात भएको छ ।

गत आवको पहिलो आठ महिनामा १६ अर्ब ३६ करोड २५ लाख रुपैयाँ बराबरको सुन आयात भएकोमा चालू आवमा ३२ अर्ब ६८ करोड ४१ लाख रुपैयाँको आयात भएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्ममा सुन आयातमा ९९ प्रतिशतले वृद्धि भएको छ । सुनको मूल्य बढेकाले ठूलो रकमको सुन आयात भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले मूल्य बढेका कारण आठ महिनामै ३२ अर्बको सुन आयात भएको बताए । परिमाण भन्दा पनि रकमका आधारमा सुनको आयात धेरै देखिएको उनको भनाइ छ ।

“आठ महिनामा ३२ अर्बको सुन आयात हुनु सामान्य हो । यो वर्ष मूल्य बढेका कारणले गर्दा पनि रकममा धेरै देखिएको हो,” उनले भने ।

मूल्य बढेकाले स्थानीय बजारमा कारोबार ५० प्रतिशतले गिरावट आएको उनको भनाइ छ । सामान्य अवस्थामा दैनिक २५ देखि ३० किलो सुन बिक्री हुने गरेकोमा अहिले आधाले घटेको उनले बताए ।

लगातार मूल्य बढ्दै गएको र सिजन नभएकाले पनि व्यापार बढ्न नसकेको व्यवसायीहरुको भनाइ छ । फागुन अन्तिम साता सुनको मूल्य बढेर तोलाको १ लाख ५ हजार रुपैयाँसम्म पुगेको थियो ।

रुस र युक्रेनबीचको युद्धका कारण सुनको मूल्यमा उतारचढाव भइरहेको व्यवसायीको भनाइ छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार ०७:४३