सूचनाको शक्ति - The Power Of Information

        

श्रीलंकामा संकट, सबै मन्त्रीले दिए राजीनामा

श्रीलंकामा संकटकालका बीच राजनीतिक उथलपुथल तीव्र बनेको छ । आइतबार अबेर राति त्यहाँको मन्त्रिपरिषदका सबै मन्त्रीले राजीनामा दिएका छन् ।

श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरूले राजीनामा बुझाएको जानकारी दिए ।

तर त्यसरी मन्त्रीहरूले एकसाथ सामूहिक राजीनामा किन दिए भन्ने कारण उनले खुलाएका छैनन् । श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले समेत आफ्ना सबै विभागबाट राजीनामा दिएको बताइएको छ ।

यसअघि आइतबार राजधानी कोलम्बोमा सरकारको विरोध गरेको आरोपमा ६५० भन्दा बढी जनालाई पक्राउ गरिएको थियो । आर्थिक मन्दीको विरोधमा उनीहरूले कर्फ्यु तोडेर सरकारविरुद्ध र्‍याली निकालेका थिए ।

यसैबीच श्रीलंकामा सामाजिक सञ्जाल प्लेटफर्ममा बन्द गरिएका छन् । आइतबारदेखि देशभर फेसबुक, ट्विटर, ह्वाट्सएप र इन्स्टाग्राम लगायत सबै सामाजिक सञ्जाल सेवा बन्द गरिएको इन्टरनेट निगरानी संस्था नेटब्लक्सले जानकारी दिएको हो ।

उता राजधानी कोलम्बोमा स्थिति नबिग्रियोस् भनेर सेना र प्रहरीले हरेक कुनामा पहरा दिइरहेका छन् । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई सहयोग गर्न भारत अघि सरेको छ ।

इन्धन संकटसँग जुध्न श्रीलंकालाई भारतले तेल ट्याङ्कर पठाइदिएको हो, जुन शनिबार श्रीलंका पुगेको छ । यसले इन्धन संकटसँग जुधिरहेका जनतालाई राहत दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार ०६:५५