सूचनाको शक्ति - The Power Of Information

        

चोरी निकासी

सीमापारि पेट्रोलियम पदार्थको तस्करी

नेपालभन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य बढी भएकाले बाँके जिल्लाका विभिन्न नाकाबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी बढ्दै गएको छ ।

नेपालभन्दा भारतमा पेट्रोल र डिजेल प्रतिलिटर १० रुपैयाँभन्दा बढी महँगो रहेकाले चोरी निकासी गरेर सीमापारि भारतका विभिन्न बजारमा पुर्याइएको छ ।

विभिन्न दुर्गमका नाकाबाट ठूलो परिमाणमा पेट्रोलियम पदार्थको तस्करी भइरहेको प्रहरीले नै जनाउँदै आएको छ । बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले प्रयास गर्दागर्दै पनि ठूलो मात्रामा पेट्रोलियम पदार्थ भारततर्फ लैजाने गरिएको सूचना प्राप्त भएको बताए ।

पेट्रोलियम पदार्थको सबैभन्दा बढी तस्करी नरैनापुर क्षेत्रबाट भइरहेको जनाइएको छ । तस्करहरूले ड्रमबाटै पेट्रोल र डिजेल ट्याक्टर तथा मिनी ट्रकमा राखेर सीमापारि लैजाने गरेको नरैनापुर क्षेत्रका स्थानीयको भनाइ छ ।

सीमा क्षेत्रबाट भारततिर भइरहेको पेट्रोलियम पदार्थको तस्करीविरुद्ध निगरानी बढाइएको प्रहरीले जनाएको छ । नेपाल–भारत मुख्य नाकाको जयसपुरमा रहेको पेट्रोल पम्पबाट पनि ९० प्रतिशतभन्दा बढी तेल भारतीयले लगेर जाने गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतवार ०९:४४