सूचनाको शक्ति - The Power Of Information

        

फराकिलो पारिँदै कर्णाली कोरिडोर

कर्णाली कोरिडोरको कालीकोट खण्ड फराकिलो बनाउन थालिएको छ । नेपाली सेनाले गत असार ३१ गते सडक विभागलाई हस्तान्तरण गरेपछि सडक विभागले मातहतका कार्यालयलाई सडकको स्तर वृद्धि गर्न निर्देशन दिएको थियो ।

सडक डिभिजन कार्यालय सिम्कोट हिल्साले बोलपत्र आह्वान गरेर पहिलो चरणमा कालीकोट खण्डमा पर्ने ४२ किलो मिटर सडक फराकिलो बनाउन थालेको हो । कालीकोट खण्डलाई दुई भागमा विभाजन गरेर सडक चौडा गर्ने जिम्मा दुई कम्पनीले लिएका छन् ।

सडक चौडाको जिम्मा मधुर कन्स्ट्रक्सन प्रालिसहित अर्को एक अर्को कम्पनीले लिएको छ । उनीहरूले आ–आफ्नो क्षेत्रमा काम सुरु पनि गरिसकेका छन् । कोरिडोरमा ढल निकासको व्यवस्थापन नहुँदा पानीको मूल भएका ठाउँमा सडक हिलाम्मे भएर यातायात सञ्चालनमा सकस भएको छ ।

कोरिडोरमा गाडी चलाउँदै आएका चालक महेश न्यौपानले पानीको व्यवस्थापन नहुँदा सडक हिलो भएकाले गाडीलाई मार पर्नुका साथै यात्रुलाई सास्ती हुने गरेको बताए । उनले अब सडक चौडाका साथै नाला पनि बनेको खण्डमा कोरिडोरको यात्रा सहज हुने उल्लेख गरे ।

कालीकोट खण्डको रेङ्गिल भात्तडी र लाफा क्षेत्रमा पानीको व्यवस्थापन नहुँदा सडक हिलाम्मे हुने गरेको छ । पहिरोले समेत सडक भासिएकाले थप समस्या थियो । अब सडक चौडा गर्न सुरु हुँदा केही सुधार हुने स्थानीयको भनाइ छ ।

पचाल झरना गाउँपालिका–६ का कटकबहादुर बमले सडक चौडा भएपछि यात्रामा सहज हुने जनाए । काम जारी हुँदा केही समय यातायातका साधन बन्द हुने गरेपनि सडक फराकिलो भएकाले केही दिनपछि सहज हुने उनको भनाइ छ । कर्णाली कोरिडो र फराकिलो गर्नका लागि प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले सहजीकरण गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी शर्माले आफू विभिन्न कामले कोरिडोरको यात्रा गर्दा सडक किनारमा बनेका घरटहरा हटाउन र सडकमा बगिरहेको पानीलाई व्यवस्थापन गर्न निर्देशन दिइरहेको जानकारी दिए । नेपाली सेनाले कर्णाली कोरिडोरको ४१० किलो मिटर सडक निर्माणको जिम्मा लिएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतवार ०९:१४