सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि यात्रुसहित रेल सञ्चालन

शुभारम्भपछि भारतको जयनगरदेखि नेपालको जनकपुर–कुर्थासम्म चल्ने रेल भारतको जयनगरदेखि नेपालको जनकपुर–कुर्थासम्म सञ्चालन उद्घाटनका लागि जयनगर रेल्वे स्टेसनमा सिङ्गारेर राखिएको रेल । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेलको भर्चुअल रुपमा शनिबार उद्घाटन गर्नुभएको छ । तस्वीर : अजयकुमार साह । रासस

जयनगर–कुर्था रेल्वे खण्डमा आजदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ ।  प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले हिजो संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गर्नुभएको हो ।

आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो ।  उहाँका अनुसार  दैनिक दुईपटक जयनगर–कुर्था रेल चल्ने छ ।

 जयनगरबाट छुटेको रेल बिहान १० बजेतिर कुर्था स्टेशन आइपुग्ने छ । जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने समयतालिका निर्धारण गरिएको महाप्रबन्धक झाले जानकारी दिनुभयो ।

जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको उहाँको भनाइ छ ।

जयनगर–कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुले आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने छ । खुला सीमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको महाप्रबन्धक झाले बताउनुभयो ।

सुरक्षा र खुला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोक्नुपर्ने महाप्रबन्धक झाको भनाइ छ ।

नेपालको जनकपुरधामबाट यात्रा गर्दा जयनगरसम्म सामान्य सीटको ७० रुपैयाँ टिकट तोकिएको छ । एसी भएको सिटको भने तीन सय ७० रुपैयाँ टिकट लाग्नेछ ।

भारतबाट आउँदा भने सामान्य टिकटको ९० रुपैयाँ र एसी भएको सीटको चार सय ५० रुपैयाँ पर्नेछ । रेलमा एक पटकमा एक हजार पाँच सय यात्रु अटाउने क्षमता छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतवार ०८:४३