सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निर्वाचन–२०७९

अन्योलमा मतदाता शिक्षा, दलहरुको पनि बेवास्ता

फाइल तस्वीर

नेपालगन्ज उपमहानगरपालिका–१ का २१ वर्षका अरुण बर्मालाई मतपत्र कस्तो छ र त्यहाँ कसरी भोट हाल्ने थाहा छैन । ‘कोही सिकाउन पनि आएको छैन,’ उनी भन्छन् ।

स्थानीय तहको निर्वाचन नजिकिँसक्दा पनि मतदाता शिक्षा सुरु नभएपछि अरुणजस्ता कयौँ मतदाता अन्योलमा छन् । ५८ बर्षकी मतदाता अमृता कँवर, निरक्षर मतदाताले पनि मत बदर हुने सम्भावना देखाउँछिन् ।

‘नयाँ मतदाताले नमूना मतपत्रसमेत हामीले देखेका छैनन्, कसरी भोट हाल्ने ?’, उनी प्रश्न गर्छिन्, ‘हामी पढेलेखेका समेत अन्यौलमा छौँ, मतपत्रको नमूनासहित चाँडो मतदाताको घरदैलो आउनुपर्छ ।’

मतपत्रको नमूना सबै मतदाताको घरदैलोमा पुर्याउन निर्वाचन कार्यालयले मात्र नसक्ने भएकोले मतदाता शिक्षाको काम राजनीतिक दलको दायित्वभित्र पर्ने भए पनि राजनीतिक दलहरुले मतदाता शिक्षालाई बेवास्ता गर्दै सञ्चालनमा चासो देखाएका छैनन् ।

सबै दलले आफ्ना कार्यकर्तालाई मतदाता शिक्षामा खटाउन सके बदर मत घटाउन सकिने देखिन्छ । आगामी बैशाख ३० मा हुने निर्वाचनका लागि बाँके जिल्लामा १३६ मतदान स्थल तोकिएको छ ।

फाइल तस्वीर

बाँकेमा निर्वाचन आयोगबाट निर्देशन नआएकाले मतदाता शिक्षा सुरु गर्न नसकिएको दावी जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा बाँकेमा निर्वाचन लक्षित मतदाता शिक्षा कार्यक्रम सुरु हुन सकेको छैन ।

निर्वाचन लक्षित मतदाता शिक्षाका लागि प्रत्येक मतदान केन्द्रमा स्वयंसेवक नियुक्त गरेर नमुना मतपत्र देखाएर घरदैलो कार्यक्रम गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगबाट कुनै स्पष्ट कार्यक्रम नआउँदा मतदाता शिक्षाबारे अन्योल बढेको निर्वाचन कार्यालय बाँकेका निर्वाचन अधिकारी रमा पन्तले बताइन् ।

उनले अहिलेसम्म विवरण मात्र सङ्कलन गर्न भनेको तर मतदाता शिक्षाबारे निर्देशन तथा कार्यक्रम नआएको बताइन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार बाँकेमा तीन लाख ३६ हजार १९२ मतदाता नामावली दर्ता भएको छ ।

अद्यावधिक भएर केन्द्रबाट अन्तिम मतदाता सङ्ख्या आउन बाँकी रहे पनि यतिठूलो सङ्ख्यालाई थोरै समयमा मतदाता शिक्षा दिन पर्याप्त समय चाहिने निर्वाचन अधिकारी पन्तले बताइन् ।

अशिक्षित समुदाय, सुस्त मनस्थिति लगायत विभिन्न प्रकारका अपाङ्गता भएकालाई मतदाता शिक्षाबारे जानकारी गराउनुपर्ने भएकाले यसबारेमा स्पष्ट कार्यक्रमको पर्खाइमा रहेको उनले बताए ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कुनै पनि कार्यक्रम सुरु नभए पनि मतदाता शिक्षाको वार्षिक कार्यक्रम अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मतदाता शिक्षा भने दिँदै आएको उनले बताइन् । यो निर्वाचन कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत १२ वटा विद्यालयमा दिइने शिक्षा हो ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार १४:०१