महाराज ! म भ्यु टावर चढिरहेछु
मेरो शहरमा, मेरै निम्ति, मेरै पसिनाबाट
हजुरको आज्ञाले ठडिएको एक विशाल भ्यु टावर
पहिलो तला
जहाँबाट सिंगमरमर र मार्बलको भुइँ टेकेर
खास टाढासम्म त केही देख्न सकिँदैन
तर युरोपियन सिसावाला झ्यालबाट प्रष्ट सुनिन्छ
एक भिखारीको रोदन, एक ठेलावालाको चित्कार
पोलेको मकै, पानीपुरी र चटपटे बेच्नेहरुको कर्कस
दोश्रो तला
जहाँबाट नजिकैको सडक पेटी र गल्लीहरु देखिन्छन्
काम र मामको आसामा चौबिसै घण्टा
केही हात्ती छाप चप्पल र केही गोल्ड स्टार जुत्ताहरु
केही बुढो स्टकोट र केही थोत्रा पाइजामाहरु
खाली पेट भौतारिरहेका छन् यता उता
तेस्रो तला
जहाँबाट शहरको मध्य भागसम्म चियाउन सकिन्छ
र देखिरहेछु मेरो शहरका अधिकांश बेदनाहरु
पर एक प्राइभेट हस्पिटलमा
बिल तिर्न नसकेर सड्न लागेको एक लास
तल एक बोर्डिङ स्कुलमा
फि तिर्न नसकेर घोक्र्याइएको एक कर्णधार
त्यहाँ एक लाइन होटलामा
दिउँसो पानी र राती जवानी बेच्न बाध्य एक चेली
उता एक प्राइभेट बैंकको काउण्टरमा
मासिक किस्ता तिर्न नसकेर रोइरहेको एक खुद्रा पसले
चौथो तला
जहाँबाट शहरभन्दा पर गाउँसम्मै देख्न सकिन्छ
बाबु खाडी र आमा पोइल गएको एक अबोध बालक
परिवारको भोक र लाज तानिरहेको एक रिक्सा चालक
पिठ्युँको भारीभन्दा गह्रौं मनको भारी बोक्ने एक भरिया
साहुको जमिनभन्दा ठूलो दुखको पहाड जोत्ने एक हलिया
पाचौं तलाबाट त महाराज अचम्मै देखियो
शहरभन्दा टाढा समुन्द्र पारसम्म छर्लङ्गै देखियो
सिमले खेत बन्धकी राखेर एक युवक
तातो वालुवामा उँटसँगै आफै चरिरहेको
स्वास्नीको गहना बेचेर एक लोग्ने
चौकादरी गेटमा कालो बुटसँगै आफै बजारिरहेको
अरुलाई यौवनको पोखरीमा डुवाएर एक युवती
आफू निर्वस्त्र आसुको तालमा डुबिरहेको
टिनको बाकसभरी पैसा जमाउने एक सपना
काठको बाकसमा आफै जमिरहेको
महाराज !
मैले त आँखा बन्द गरेँ
हेर्न सकिन यी सबै सबै दृश्यहरु
चढ्न सक्दिन अब अरु तलाहरु
चढ्नुस तपाईं पनि समृद्धिको यो भ्यु टावर
जहाँबाट देख्नुहुनेछ शुन्दर देशको यी कुरुप अनुहारहरु
चिचिला–२, संखुवासभा
बिश्वरसिंह मेवाहाङ ।