सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

‘स्मृति’का तीन गजल

गजल – एक

तिमीसँग मनका बातहरु गरुँ गरुँ लाग्यो ।
कोट्याउँदै तिम्रो नजिक सरुँ सरुँ लाग्यो ।।

टोलाउँदै एकोहोरो हेर्दछु जहिले जहिले ।
अङ्गालोभरी तिमीलाई भरुँ भरुँ लाग्यो ।।

जादुमय नजरले जहिले तीर हान्यौं र त ।
मायाजालको भुमरीमा नै परुँ परुँ लाग्यो ।।

कल्पनाको डुबुल्की मार्छु जहिले जहिले ।
सपनाको संसार चिरेर झरुँ झरुँ लाग्यो ।।

हुने गर्छौं सामुन्नेमा तिमी जहिले जहिले ।
पीडा बिर्सि मन्द मुस्कान छरुँ छरुँ लाग्छ ।।

गजल – दुई

सिधा सिउँदो काटेर, दुई चुल्ठी बाटेकी छु ।
सम्झनामा जूनसँगै, कयौं रात काटेकी छु ।।

एकदिन आउँला नि, मिलनको पल भनी ।
सङ्गालेर अथाह प्रेम, यादसँग साटेकी छु ।।

भ्रममात्र हुने होकी, सम्बन्ध यो पिरतीको ।
डर त्रास टाल्दै कति, आफैभित्र फाटेकी छु ।।

आउँछौं आउन्नौं थाहा छैन, मेरो सामु तिमी ।
मनमनै मनको राजा, तिमीलाई आँटेकी छु ।।

गर्वसाथ भन्ने गर्छु, दुनियाँ सामु तिमी मेरो ।
तर मेरो हैनौं तिमी, आफैलाई ढाँटेकी छु ।।

गजल – तीन

इसारा गर्यो उसले, अन्तै मन बस्या छ रे ।
नउम्किने गरिकन, उसको दिल फस्या छ रे ।।

हिजोसम्म बिगुल फुक्दै, मेरी हौ भन्नेले ।
अङ्गालोमा उसलाई बेरेर, कम्मर कस्या छ रे ।।

थाहै थिएन आनीबानी, छलकपट उसको ।।
धाउँदै बजारको गल्ली, भट्टी पस्या छ रे ।।

लुटाएर धनसम्पत्ति, कंगालसरि भएपछि ।
होसमा आउँदा ऐले, छाँगाबाट खस्या छ रे ।।

धन हुँदा पो पराइ पनि आफ्ना हुने रैछन् ।
रित्त्याएर ऐले, आफ्नैलाई छुरी धस्या छ रे ।।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार ०९:००