तीव्र गतिका बलर करन केसीले पहिलोपटक टी–२० क्रिकेटमा ह्याट्रिक पूरा गर्दै ५ विकेट लिएपछि राजधानीमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल लगातार तेस्रो खेलमा जित हात पार्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पपुवान्युगिनीविरुद्ध दोस्रो खेलमा ३७ रनको सहज जित हासिल गरेपछि नेपालले एक खेल अगाडि नै फाइनलमा स्थान पक्का गरेको हो । खेलमा पपुवान्युगिनीले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो ।
तर पीएनजीको यो निर्णयलाई गलत सावित गर्दै नेपाली खेलाडीहरुले खुलेर ब्याटिङ गरे । मध्यक्रममा दिपेन्द्रसिंह ऐरीले आक्रामक खेल खेल्दै ६६ रन बनाएपछि नेपालले २० ओभरमा २०३ बलियो योगफल तयार पारेको थियो ।
चौथो अन्तराष्ट्रिय टी–२० अर्धशतक पूरा गर्ने क्रममा दिपेन्द्रले ३३ बलको सामना गर्दै ३ चौका र ४ छक्का प्रहार गरे । दिपेन्द्रले ४१ रन बनाएका रोहित पौडेलसँग तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए भने चौथो विकेटका लागि आदिल अन्सारीसँग ७४ रनको आक्रामक साझेदारी पूरा गरेका थिए ।
आदिल अन्सारीले केवल ११ बलको सामना गरेर ३ छक्का र १ चौकाको सहयोगमा ३१ रन बनाएर दिपेन्द्रलाई राम्रो साथ दिए । त्यसअघि ओपनर कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए ।
कुशल १७ रन बनाएर आउट भए भने आशिफले ३८ रन बनाए । जवाफमा २०४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पीएनजीका दुई प्रारम्भिक ब्याट्सम्यानलाई करन केसीले दुई ओभरको अन्तरमा आउट पारेपछि नेपालले सहज जीत हात पार्ने देखिएको थियो ।
तर चाल्र्स अमिनी र टोनी उराले तेस्रो विकेटका लागि ८४ रनको साझेदारी गर्दै पीएनजीको सम्भावनालाई कायमै राखेका थिए । खेलको १२औँ ओभरमा सोमपाल कामीले ४३ रन बनाएका टोनी उरालाई आउट गर्दै त्यो साझेदारी तोडेपछि मात्र नेपाल ढुक्क भएको थियो ।
उराले २२ बलमा २ चौका र ४ छक्का प्रहार गरे । सोमपालले नै ६२ रन बनाएका चाल्र्स अमिनिलाइ आउट पारेपछि भने नेपाल जिततर्फ अग्रसर भएको थियो । खेलको अन्तिम ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार तीन विकेट लिँदै करन केसीले टी–२० क्रिकेटमा ह्याट्रिक गर्ने दुर्लभ उपलव्धि आत्मसात गरे ।
उनी नै खेलको म्यान अफ दी म्याच चुनिए । पपुवान्युगिनीले खेलेका तीनैवटा खेल गुमाइसकेको अवस्थामा फाइनलमा नेपालको प्रतिद्वन्द्वी मलेशिया हुने सम्भावना बढेको छ ।
दुई खेल खेलेको मलेशियाले पीएनजीलाई हराएको थियो भने नेपालसँग पराजित भएको थियो । यद्यपि गणितिय हिसाबमा पीएनजीको फाइनल पुग्ने सम्भावना हुँदै नभएको भने होइन ।
सत्यपाटी । काठमाडौं ।