सूचनाको शक्ति - The Power Of Information

        

ओलीले गराएको गोप्य सर्वेक्षण

गठबन्धन रहे प्रत्यक्षमा एमालेको आठ सिट, ओली तनावमा !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा एमालेको अवस्था कस्तो छ भनेर नेताहरूलाई सर्वेक्षण गर्न लगाएका थिए । देशका केही जिल्लामा गरिएको सर्वेक्षणपछि ओली यतिबेला तनावमा छन् ।

गत चुनावमा एमालेले राम्रो मतान्तरले जितेका केहि जिल्लाको रिपोर्ट पाएपछि ओलीले नयाँ रणनीतिमा बनाउन थालेका छन् । ओली निकट स्रोतका अनुसार नेताहरूले विभिन्न जिल्लामा गरेको सर्वेक्षणमा एमालेका प्रभावशाली नेताहरू पनि सुरक्षित नभएको पाइएको छ ।

अर्को रणनीति नबनाएको खण्डमा आउँदो चुनावमा चौथो दल बन्नुपर्ने अवस्था आउने आंकलन नेताहरूले गरेका छन् । एमाले अध्यक्ष ओलीको क्रेजको कारण केहि मत थपिए पनि माओवादी र एकीकृत समाजवादीका कारण ठुलो क्षति भैसकेको सर्वेक्षणले देखाएको स्रोतको दाबी छ ।

सर्वेक्षणपछि ओलीलाई बुझाईएको रिपोर्टमा गठबन्धन कायम रहेको खण्डमा प्रत्यक्षमा पाँच देखि आठ सिट जित्न सकिने बताइएको स्रोत बताउँछ । गठबन्धन भात्काउना सकिएको खण्डमा भने ३५ देखि ४० सिट प्रत्यक्षमा जित्ने बताइएको छ । जसमा पनि एमालेका प्रभावशाली केहि नेताहरूले हार्ने देखाइएको छ ।

यस्तै समानुपातिकमा भने देशभरबाट २५ देखि ३० लाख भोट आउने आंकलन गरिएको छ । एकीकृत समाजवादीका कारण बढीमा १० लाख समानुपातिक भोट काटिएको आंकलन रिपोर्टमा गरिएको छ । उक्त रिपोर्टमा सबैभन्दा क्षति सुदूरपश्चिममा भएको जनाइएको छ । लुम्बिनी प्रदेशमा भने सबैभन्दा राम्रो अवस्था रहेको बताइएको छ ।

उक्त रिपोर्ट पाएपछि ओली लगायतका नेताहरू नयाँ रणनीति बनाउन जुटेका छन् । एमालेका केही नेताहरूलाई खटाएर देशैभरको अवस्था बुझ्न लगाएका ओलीले आउँदो संसदीय निर्वाचनमा गठबन्धन कायम रहेको खण्डमा तनावको अवस्था सामना गर्नुपर्ने देखिएपछि देखिने भन्दा नदेखिने तरिकाले रणनीति बनाउन ब्यस्त छन् ।

यसैलाई आधार मानेर एउटा तथ्यलाई भने स्वीकारे र तर अर्को तथ्यबारे बोलेनन् । उक्त रिपोर्टपछिका ओलीका भाषणहरू पनि फितलो हुन थालेका छन् । जिल्ला अधिवेशनहरू उद्घाटन गर्दा पनि उनमा त्यति ‘कन्फिडेन्ट’ देखिएन । उनले नेकपा एमाले एकतिर र पाँच दलीय गठबन्धन अर्कातिर भएकाले राष्ट्रिय सभा निर्वाचन आफूहरु प्रतिकूल हुने बताए ।

अर्को, गठबन्धनको अन्तिम शक्ति राष्ट्रियसभासम्म हुने भन्दै भत्कने भविष्यवाणी पनि गरे । दुई तिहाईको सरकारको प्रधानमन्त्री बनेका ओली यसरी खुम्चिए कि गठबन्धनले मिलेर उनलाई जताततै सून्यमा झारिदिए । केन्द्रमा सरकार ढल्यो । ७ मध्ये ६ वटा प्रदेशमा सरकारमा रहेको एमाले प्रतिपक्षमा पुग्यो ।

राष्ट्रियसभाको एक सिटको चुनाव विगतमा हार्यो । अब १९ सिटका लागि हुने चुनावमा सून्यमा झर्ने स्थिति बनेको छ । ओलीले यही यथार्थलाई बुझेर तीन तहको चुनाव अगावै गठबन्धन भत्काउने रणनीति बनाउन थालेका छन् । त्यसका लागि उनले नेपाली काँग्रेसलाई एकल सरकार गठनको प्रस्ताव समेत लगेका छन् ।

सार्वजनिक रुपमै एमाले एक्लै नहिंड्ने बताइसके । ओलीले एमसीसीलाई महत्वपूर्ण अस्त्र देखेका छन् । एमसीसी संसदमा अगाडि बढाइए प्रचण्ड र माधवकुमार नेपालले पारित गर्न नमान्ने र त्यतिबेला आफ्नो दल निर्णायक हुने देखेका छन् । तर, एमसीसी सदनमा अगाडि बढ्न सकेको छैन । यसरी नै सदनमा अवरोध रहेमा देश चुनावमा जानसक्छ ।

ओली त्यही चाहन्छन् । चुनावमा जाँदा गठबन्धन कायमै रहेमा ओलीलाई ठूलो धक्का पर्न सक्छ । देउवा निकट नेताहरु एमाले सून्यमा झर्ने भन्न थालेका छन् । गठबन्धन यसरी नै चुनावसम्म एक भएर गएमा ओलीका लागि ठूलो धक्का हुन सक्छ । त्यसैले पनि ओली गठबन्धन भत्काउने रणनीतिमा लागेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार १५:५३