सूचनाको शक्ति - The Power Of Information

        

छोरीलाई बलात्कार गरेको आरोपमा बाबु थुनामा

फाइल तस्वीर

उनी नियमित विद्यालय जानै सक्दिनन् । पेट निरन्तर दुखिरहन्छ । रिंगटा लाग्छ । बान्ता होला जस्तो हुन्छ । १५ वर्षकै उमेरमा प्रजनन् स्वास्थसँग सम्बन्धित समस्या छोरीमा देखेर आमा हैरान थिइन् । पेट दुख्यो भन्ने मात्रै होइन टाउको दुख्थ्यो उनको । टोलाउने पनि गर्न थालिन् । घरमै पनि बोल्न डराउन थालिन् । बरु घरबाहिर जान रुचाउने गर्न थालिन् ।

छोरीमा समस्या आउनुपर्ने खास कारण पनि आमाले देखिनन् । ९ कक्षा पढ्ने छोरीको पढाइमा पनि ध्यान थिएन । नियमित टोलाउने गर्दा भने आमालाई चिन्ता बढ्न थाल्यो ।आमा भन्छिन्, ‘छोरीको व्यवहार ख्याल गरिरहेको थिएँ, पहिले चलाख छोरीमा एकाएक परिवर्तन आउँदा चिन्ता लागिरहन्थ्यो ।’

चितवनको कालिका नगरपालिकाकी १५ वर्षीया किशोरी आफ्नै बाबुबाट पटक पटक बलात्कारमा परेपछि यस्तो समस्या आएको थियो । सुरुसुरुमा छोरीको समस्या आमाले भेउ पाइनन् । तर, पछिल्लोपटक गत फागुन १ गते रातको समयमा आफैले बलात्कार गरेको देखेपछि उनले नै आफ्नै लोग्नेविरुद्ध प्रहरीमा उजुरी गरिन् ।

पूर्व सैनिक ५४ वर्षका बाबुले १५ वर्षकी छोरीलाई पाँच वर्षयता बलात्कार गर्दै आएको पीडितले जानकारी दिइन् । अझ पछिल्लो समय त गर्भ नरहोस् भनेर गर्भ निरोधक महिने सूई लगाएर बलात्कार गर्दै आएका रहेछन् । ‘बुबाले घरमै संगिनी सुई लिएर आउनुहुन्थ्यो । अनि आफैले लगाइदिनुहुन्थ्यो,’ पीडित बालिकाले भनिन्, ‘कसैलाई भने मारिदिने भन्नुहुन्थ्यो । अनि बोल्नै सकिनँ ।’

सबै कुरा भने मार्नेसम्मको धम्की दिएपछि बाबुविरूद्ध बोल्ने आँट छोरीमा भएन । बरू उनी बुबाबाट जतिसक्दो टाढा बस्थिन् । शरीर सुमसुम्याउने, छोरीको संवेदनशील अङ्गहरुमा छुने÷चलाउने क्रियाकलाप गरेको भनी पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालयमा उजुरी दिइन् ।

प्रहरीमा फागुन २० गते बलात्कारविरुद्ध जाहेरी दिएकी थिइन् । छोरीलाई बलात्कार गरेको आरोपमा ५४ वर्षीय बाबुलाई जिल्ला अदालत चितवनले सोमबार पूर्पक्षको लागि थुनामा पठाएको जिल्ला अदालत चितवनका श्रेस्तेदार ईश्वर आचार्यले वताए । न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई थुनामा पठाउने आदेश गरेको हो । पीडित किशोरीकी आमाले आफ्नै लोग्ने भए पनि छोरीमाथि ज्यादती गरेको भन्दै कारबाहीको माग गरेकी छन् ।

‘गर्भ नबसोस् भनेर तीनमहिने संगिनी सुईसमेत लगाउने गरेका रहेछन्,’ पीडित किशोरीकी आमाले भनिन्, ‘आफैँले जन्माएको छोरीमाथि यस्तो गर्नेलाई हदैसम्मको कारबाही होस् ।’ छोरीमा पेट, पाठेघरसम्बन्धी समस्या देखिने गरेको उनले बताइन् । ‘पहिलेभन्दा छोरी धेरै शारीरिक र मानसिकरुपमा कमजोर छिन्,’ उनले भनिन्, ‘उपचारका लागि अहिले पनि पटकपटक अस्पताल धाउने गरेका छौँ ।’

 

आइएनएस–स्वतन्त्र समाचार

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार १२:३५