सूचनाको शक्ति - The Power Of Information

        

पूर्व सूचनाबिनै विद्युत् कटौती

बाँकेमा अघोषित लोडसेडिङ, उद्योग चलाउनै समस्या

चैतको सुरुबाटै भइरहेको अघोषित लोडसेडिङले बाँकेका उद्योगको उत्पादन आधाजति घटेको उद्योगीले बताएका छन् ।

केही दिनदेखि पूर्व सूचनाबिना लोडसेडिङ हुँदै आएकाले उद्योग सञ्चालन गर्न नसक्दा ठूलो क्षति बेहोर्नुपरेको चेम्बर अफ कमर्स बाँकेका अध्यक्ष सतीशकुमार अग्रवालले बताए ।

उनले बिना सूचनाको लोडसेडिङकै कारण अधिकांश उद्योगले अर्डर लिएको सामान समयमा दिन नसकेको जनाउँदै कर्मचारीलाई कामबिना तलब दिनु परिरहेको गुनासो गरे ।

पेट्रोलियम पदार्थको मूल्यले आकाश छोइरहँदा विद्युत् आपूर्तिमा समेत समस्या बढेकाले उद्योग सञ्चालनमा कठिनाइ भएको अध्यक्ष अग्रवालले बताए ।

एक सातायता छिनछिनमा विद्युत् जाने कारणले उत्पादनमा समस्या हुँदा एकातिर अर्डर समयमा दिन नसकिएको र अर्कोतिर कर्मचारीलाई पनि कामबिना नै तलब दिनुपरिरहेको जय मङ्गलम सिमेन्ट्सका प्रबन्ध निर्देशक सञ्जयकुमार अग्रवालले बताए ।

सरकारले पटकपटक उद्योगमा विद्युत् समस्या हुन नदिने बताए पनि व्यवहारमा त्यसो नदेखिएको यहाँका अधिकांश उद्योगीको गुनासो छ ।

नेपालगन्जका उद्योगपति कन्हैयालाल वैद्यले विद्युत् समस्या हुन नदिन बेलैमा पूर्वतयारी नगरिएकाले अहिले उद्योगी अघोषित लोडसेडिङ खेप्न बाध्य भएको बताए ।

अहिलेको अवस्था अझै केही समय रहने हो भने विद्युतकै कारण औद्योगिक क्षेत्रका धेरै उद्योग बन्द हुने उनले चेतावनी पनि दिए ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घले चैतको सुरुदेखि विद्युत् आपूर्तिमा समस्या देखिएकाले धेरै उद्योगको उत्पादन घट्दै गएको गुनासो सङ्घमा आएको जनाएको छ ।

सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले उद्योगलाई आवश्यक परेको विद्युत् आपूर्ति गर्न र अघोषित लोडसेडिङ बन्द गर्न सम्बन्धित निकायलाई दबाब दिन उद्योगीले माग गर्दै आएको बताए ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले पनि अघोषित लोडसेडिङ बाँकेको पुरानो रोग भएको जनाउँदै यसबारे सम्बन्धित निकायले तत्काल ध्यान दिन माग गरे ।

नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख सुरज गौतमले मागअनुसार विद्युत् नआउँदा उद्योगलाई दिने विद्युत् कटौती गर्नुपरेको बताए । उनले विद्युत् अनियमित हुने समय यकिन नभएकाले तालिका दिन नसकिएको बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार १२:२७