विदेशमा मृत्यु र अंगभंग भई फर्केका श्रमिकले बिमा दाबी गर्दा अनिवार्य गरिएको श्रमस्वीकृतिको सिफारिस र श्रमस्वीकृति रद्दका लागि बिचौलियाले लाखौ रुपैयाँ उठाउन थालेपछि सरकारले सिफारिसको नियम हटाएको छ ।
यसअघि वैदेशिक रोजगारीका क्रममा मृत्यु र अंगभंग भएका बिरामीले बिमा रकम भुक्तानीका लागि विभागवाट श्रमिकले श्रमस्वीकृति लिएर गएको हो भनी प्रमाणित गर्नुपर्ने अनिवार्य प्रावधान थियो ।
वैदेशिक रोजगार विभागले सिफारिसको नाममा ठगी बढ्न थालेपछि सम्बन्धित कामदारले श्रमस्वीकृति लिएर गएको हो भनी प्रमाणित गर्नुपर्ने प्रावधान हटाइएको जनाएको छ ।
योसँगै श्रमस्वीकृति सिफारिस र श्रमस्वीकृति रद्द सम्बन्धमा दुईवटा नियम सहज भएको छ । वैदेशिक रोजगार नियमावली बमोजिम वैदेशिक रोजगारमा जाने कामदारले बिमा कम्पनीसँग गरेको बीमाबमोजिम नियमानुसार प्राप्त गर्ने बिमा रकम भुक्तानीका लागि विभागवाट श्रमस्वीकृतिको सिफारिस लिनुपर्ने नियम थियो ।
यसअघि सिफारिस लिँदा बिचौलियाले मृतक आफन्त र घाइते श्रमिकसँग एक लाख रुपैयाँसम्म पैसा असुल्ने गरेका थिए । विभागका महानिर्दे शक शेषनारायण पौडेलले अब सम्बन्धित बिमा कम्पनीले विभागको अनलाइन सूचना व्यवस्थापन प्रणाली (फेमिस) बाट सिधै श्रमस्वीकृति लिएको(नलिएको रुजु गर्नसक्ने व्यवस्था गरेका कारण सिफारिसमा बिचौलियाको चलखेल र विभागमा आइरहनु नपर्ने बताए ।
बिचौलियका कारण श्रमिकले बिमा रकम दाबी र श्रमस्वीकृति रद्दमा भोग्दै आएको ठगी र सास्तीलाई हटाउन यसका लागि बनाइएका नियम सहज बनाएर विभाग नै आउनु पर्ने झन्झट हटाइएको हो ।
नियम सहज बनाएपछि श्रमस्वीकृति रद्द र बिमा रकम दाबीका लागि श्रमिकले काठमाडौ आउनुपर्ने बाध्यकारी नियमसमेत हटेको छ ।
यसका साथै विभागले श्रमस्वीकृति लिएर विदेश नगएका श्रमिकको स्वीकृति रद्द गर्ने नियमलाई समेत सहज बनाएको छ । वैदेशिक रोजगार नियमावलीमा भएको श्रमस्वीकृतिको निस्सा (स्टिकर) रद्द गर्ने विभागको अधिकार सम्बन्धित श्रम कार्यालयका प्रमुखलाई प्रत्यायोजन गरिएको विभागले जनाएको छ ।
यसअघि श्रमस्वीकृति रद्द गर्न टाढा टाढाबाट हजारौं खर्च गरेर काठमाडौँमा रहेको वैदेशिक रोजगार विभागमा आउनु पर्ने अनिवार्य नियम रहेको थियो ।
यो समाचार आजको कारोबार दैनिकमा छ ।
सत्यपाटी । काठमाडौँ ।