सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी रहेको दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सरकारविरुद्ध एक भएर जाने सहमति भएको छ ।
धनगढीमा दुई प्रतिपक्षी दल कांग्रेस र एमालेबीच बुधबार भएको बैठकले यस्तो सहमति गरेको हो । उक्त बैठकबाट आफूहरु सुदूरपश्चिम सरकारको विपक्षमा एक भएर उभिने टुंगोमा पुगेको नेपाली कांग्रेस र एमालेका प्रदेशसभा सदस्यहरूले बताएका छन् ।
केन्द्रमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच गठबन्धन भए पनि सुदूरपश्चिममा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा छ ।
सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकारमा सत्ता साझेदार दलका रूपमा समाजवादी रहेको छ । सुदूरपश्चिम प्रदेशसभामा हाल एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, कांग्रेसका १२, एमालेका १०, जसपाका एक र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक प्रदेश सांसद छन् ।
केन्द्रमा भएको सत्ता गठबन्धन प्रदेशमा लागू नभएको भन्दै कांग्रेस पहिल्यैदेखि रुष्ट बन्दै आएको थियो । जसका कारण प्रदेशमा एमालेसँग कांग्रेस नजिकिएको हो । कांग्रेसका प्रदेश सांसद भरत खड्काले केन्द्रको भन्दा पनि प्रदेशको आवश्यकताअनुरूप गठबन्धन गर्नुपर्ने बताए ।
‘प्रदेशमा एकतर्फी रूपमा सरकारले काम गर्दै आएको छ । त्यसको भागीदार हामी किन बन्ने ? केन्द्र सत्ता गठबन्धन तोडेर नयाँ समीकरण बनाउनुपर्ने देखिएको छ । मंगलबार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारविरुद्ध गठबन्धन बनाउने निर्णय गरेको छ,’ उनले भने ।
यस्तै, कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा.रणबहादुर रावलले पनि सुदूरपश्चिम सरकार चलाउन नयाँ समीकरण बन्ने बताए । ‘एमाले पनि अहिले प्रतिपक्षमा छ । उसले कांग्रेसको साथ पाउँदा सरकारको विरोध गर्ने शक्ति बलियो हुन्छ,’ उनले भने ।
यता, एमालेका प्रदेश संसद लीलाधर भट्टले भने नयाँ समीकरणबारे छलफल नभएको बताउँदै कांग्रेस र एमालेबीच सरकारका गलत प्रवृत्तिविरुद्ध सशक्त भएर अघि बढ्ने सहमति मात्र भएको बताए ।
‘हामी दुवै प्रतिपक्षीको साझा धारणा र समान एजेण्डा छन् । छलफलबाट पनि त्यही निष्कर्ष निकालेका छौँ,’ उनले भने । सरकारका कमीकमजोरीविरुद्ध कांग्रेस र एमाले एक भएर जाने उनको भनाइ छ । कांग्रेसले प्रदेशस्तरमा गठबन्धन नै गर्न चाहेमा पनि एमाले तयार रहेको उनले जनाए ।
सत्यपाटी । धनगढी ।