सूचनाको शक्ति - The Power Of Information

        

जयपृथ्वी नगरपालिका

नगर प्रहरीमा मेयरका छोरा र उपमेयरका आफन्त भर्ना

बझाङको जयपृथ्वी नगरपालिकाले भर्ना गरेको नगर प्रहरीको छनोटमा निष्पक्षता नभएको भन्दै परिक्षार्थीहरुले पुनः छनोट गर्न माग गरेका छन् ।

जयपृथ्वी नगरपालिकाले सोमबार सार्वजनिक गरेको नगरप्रहरीको नामावलीमा आफ्न्तहरु छनोट गरेको र भर्ना प्रक्रियामा जनप्रतिनिधिले आफ्न्तबाद हावी हुने गरी छनोट गरेको परिक्षार्थी कलक खड्काले बताए ।

मंगलबार १९ जना नगरप्रहरीमा दरखास्त पेस गरेका परिक्षार्थीहरुले नगर प्रहरीमा निष्पक्ष छनोट गरिनु पर्ने माग राख्दै १९ जनाले हस्ताक्षर गरिएको निवेदन जयपृथ्वी नगरपालिकामा पेस गरेका छन् ।

उक्त निवेदनमा परिक्षाको नतिजा तथा नगर प्रहरीको छनोट प्रकृया पुन गर्न माग गरेका छन् । नगर प्रहरीमा नाम निकालेकाहरुमा एक जना नगरपालिकाका सहायक अधिकृतका आफन्त रहेका छन् ।

एक जना मेयरका छोरा र एक जना उपमेयरका आफन्त रहेको परिक्षार्थीहरुले बताएका छन् । यदी निवेदनमाथि छलफल नगरी छनोट भएकामाथि छानविन नगरी वा नगरप्रहरीमा निष्पक्ष छनोट नगरेमा आन्दोलन गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।

नगर प्रहरीमा १२ जनाको नाम छनोट गरिएको छ । जसमा नगर प्रमुख, उपप्रमुख तथा कर्मचारीहरुका आफन्तहरु परेको भन्दै सामाजिक संजालमा चर्को आलोचना हुन थालेको छ । जनप्रतिनिधिले आफ्नो कार्यकाल सकिन लाग्दा नगरपालिकामा आफन्तहरुलाई भर्ति गरेको समेत स्थानीयहरुले आरोप लगाएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार १२:०१