सूचनाको शक्ति - The Power Of Information

        

द्वन्द्वकालको लडाकु शिविरमा शिक्षालय

याङसिलाको केराबारी कालोपानीस्थित राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयको खेल मैदानमा एकै रङ्गका ट्रेकसुट लगाएका विद्यार्थीहरूको समूह नाचगान गरिरहेका थिए । उनीहरूलाई हौस्याउँदै त्यही हूलमा एकजना शिक्षिका पनि समावेश भइन् । नेपाली, मैथिली र भोजपुरी गीतको सामूहिक नाचमा सहभागीहरू मनभित्रैदेखि उर्लिएको खुशी प्रकट गरिरहे झैँ देखिन्थे ।

तर त्यहाँ कुनै सांस्कृतिक कार्यक्रम भइरहेको भने थिएन । शिक्षालयमा तालिम लिन आएका विद्यार्थीहरू मंगलवारका दिन लामो हाइकिङबाट फर्केर बजारको सरसफाई गरिसकेपछि त्यहाँ विश्रामका लागि भेला भएका थिए । त्यहाँ प्रदेश १ र २ भित्र पर्ने ११ जिल्लाका माध्यमिक विद्यालयहरूबाट आएका कक्षा ७ देखी ९ सम्मका ५ सय भन्दा बढी छात्रछात्राको उपस्थित थिए ।

उनीहरूसँगै अभिभावकका रूपमा आएका शिक्षक–शिक्षिकाहरू विद्यार्थीको नाचगान हेरिरहेका थिए । दुई हप्ताभन्दा लामो तालिम समापन हुन लागेको खुशीले होला, लिटिलबुद्ध माध्यमिक विद्यालय ताप्लेजुङकी शिक्षिका सुरेखा लिम्बु पनि छात्राहरूको हुलमा पसेर नाच्न थालेकी थिइन् । सुरेखा गुरुआमाको साथ पाएर हौसिएका विद्यार्थीले त्यहाँ उपस्थित अन्य शिक्षकलाई मात्र होइन शिक्षालयका सैनिक अधिकारीहरूलाई पनि आफूसँगै नचाएका थिए ।

शिक्षालयका प्रमुख सेनानी विमल केसीले कोरोना महामारीका कारण रोकिएको तालिम अहिले पुनः शुरू गरिएको बताए । यसै साता यो समूहको एससीसी तालिमको दीक्षान्त समारोह र समापन कार्यक्रम हुँदैछ । विद्यालय र शिक्षालयमा पाउने तालिमबाट विद्यार्थीलाई राष्ट्रियता, सामाजिक उत्तरदायित्व, अनुशासनका सैद्धान्तिक र व्यावहारिक ज्ञान हुने र त्यसको सहयोगमा उनीहरूले भविष्यमा आउन सक्ने चुनौतीहरूलाई सहज रूपमा सामना गर्न सक्ने केसीले बताए ।

उनले देशभक्त नागरिकको रूपमा नेतृत्वदायी भूमिकाका लागि विद्यार्थीहरूलाई सक्षम बनाउन महत्वपूर्ण हुने बताए । नेकपा माओवादीद्वारा राज्यविरुद्ध सञ्चालित सशस्त्र द्वन्द्वका समयमा लडाकुहरूको शिविर रहेको ठाउँमा अहिले माध्यमिक तहका विद्यार्थीलाई राष्ट्रको सेवाप्रति उत्प्रेरित गर्ने तालिम केन्द्र बनेको हो ।

माओवादीले हतियार बिसाएर शान्ति वार्तामा आउनुभन्दा केही समय अघिका दिनहरूमा याङशिलाको त्यही ठाउँमा माओवादी जनमुक्ति सेनाको छिन्ताङ सुखानी स्मृति ब्रिगेड थियो । त्यसबेला धरान–याङशिलाको बाटो हिँड्न समेत मानिसहरू डराउँथे । अहिले त्यो सडकको अधिकांश भाग पक्की भइसकेको छ भने बाक्लो बस्तीले कालोपानीलाई बजार बनाएको छ ।

दुई दशकअघिको सशस्त्र द्वन्द्वको झझल्को दिने चारकोशे झाडीसँगै जोडिएको त्यो ठाउँ बिरानो र सुनसान थियो । द्वन्द्वको समाप्तीसँगै त्यो स्थानमा नेपाली सेनाको शिक्षालय र इञ्जिनीयरिङ गणका साथै सर्पदंश उपचार केन्द्रसमेत स्थापना भएपछि त्यहाँ मानिसको बसोबास बढ्दै गएको हो । पूर्वी नेपालका १५ जिल्लाबाट आउने तालिमे विद्यार्थीहरूले राष्ट्र सेवाको भावना जागृत गराउने एउटा शान्त र सुन्दर गन्तव्यको रूपमा परिचय बनेको छ अहिले याङशिलाको कालोपानी क्षेत्रको ।

माध्यमिक विद्यालय तहका छात्रछात्रलाई राष्ट्रिय सेवा दलको तालिम सञ्चालन गर्ने अवधारणा २०२२ सालमा नै बनेको थियो । २०४६ पछि नेपाली सेनाको ब्यारेक रहेका जिल्लाहरूमा विभिन्न विद्यालयहरूबाट छात्र–छात्रा छनौट गरी सेनाबाट राष्ट्रिय सेवा दल तालिम सञ्चालन गरिन्थ्यो । तर आवासको सुविधा सहित एकिकृत तालिमको व्यवस्था भने हुन सकेको थिएन । पछिल्लो समय नेपाली सेनाद्वारा पूर्वमा रासेद पूर्वी तालिम शिक्षालय स्थापना भएपछि आवासीय तालिम सञ्चालन हुन थालेको हो ।

शिक्षालयका प्रमुख सेनानी केसीका अनुसार कक्षा ७ देखि ९ सम्मका विद्यार्थीलाई तालिमका लागि नेपाली सेनाको टोलीले विभिन्न जिल्लाका विद्यालयहरूबाट छनौट गर्दछ । लैङ्गिक समानता कायम गर्दै एक विद्यालयबाट समान १८ छात्र र १८ छात्राको छनौट गरी विद्यालयमा नै तालिम दिइने व्यवस्था रहेको केसीले बताए । सबै जिल्लामा छानिएकाहरूलाई नेपाली सेनाको शिक्षालयमा सामान्य सैनिक कलादेखी नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गरिदै आएको पनि उनले बताए ।

तालिमको सैद्धान्तिक र व्यावहारिक पाठ्यक्रम १०० दिनको रहेको बताइएको छ । कारोना माहामारीका कारण लगभग पछिल्ला दुई वर्षको अवधिमा एनसीसी तालिम पनि प्रभावित भयो । कठिन परिस्थितिको सामना गर्दै तालिमलाई निरन्तरता दिन कुल १०० दिनको पाठ्यक्रमलाई परिमार्जन गरेर ५१ दिनमा सीमित गरिएको थियो । अहिले पाठ्यक्रमलाई थप परिमार्जित गर्दै १६ दिन बनाई आवासीय सुविधासहित तालिम सञ्चालन गरिएको केसीले जानकारी गराए ।

तालिममा विद्यार्थीहरूलाई नेपालको भौगोलिक विविधता, यहाँको जात–जाति, धर्म, संस्कृति, परम्परा र संस्कारका विविध पक्षको ज्ञान दिइन्छ । विद्यार्थीलाई सैनिक पोशाकमा विभिन्न परेड सहितका कार्यहरूमा सहभागी गराएर राष्ट्रको पहरेदारका रूपमा एउटै परिवारका रूपमा राखिन्छ । यसले उनीहरूबीच नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई जोगाई राख्न राष्ट्रिय एकताको भावना जागृत गराउने विश्वास गरिएको छ ।

तालिमे विद्यार्थीसँगै शिक्षालयमा आएका खोटाङ ऐँसेलुखर्कस्थित त्रिभुवन माविका शिक्षक बुद्धप्रसाद घिमिरेले भने, ‘तालिमले विद्यार्थीहरूलाई बलियो उत्प्रेरणा मिलेको अनुभव गरेको छु ।’ कर्णेल तहका सैनिक अधिकारी र विद्यार्थीहरू एउटै मेसमा पाकेको खाना खाने गरेका कुरालाई उनले उदाहरणीय बताए ।

तालिममा सहभागी विद्यार्थीहरूले एउटा सैनिकले पाउने तालिम, उनीहरूले सिक्ने विभिन्न किसिमका कला र उनीहरूको अनुशासनलाई प्रत्यक्ष अनुभव गरेर विपद्को व्यवस्थापन र उद्धारकार्यको सिप सिक्न पाउँदा धेरै खुसी लागेको बताएका छन् । यस वर्षको तालिममा सुनसरी, सिन्धुली, खोटाङ, संखुवासभा, पर्सा, धनकुटा, पाँचथर, इलाम, ताप्लेजुङ, सर्लाही, झापा जिल्लाका विभिन्न विद्यालयको सहभागिता थियो ।

आइएनएस–स्वतन्त्र समाचार

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार १०:००